२३ औँ वनस्पति दिवस : वनस्पतिको अनुसन्धान र संरक्षणमा जोड

जुम्ला । जुम्लामा मङ्गलवार २३ औँ वनस्पति दिवस मनाइएको छ । वनस्पतिको अनुसन्धान र नवप्रवर्तन राष्ट्रको उन्नयन भन्ने नाराका धिताचौर वनस्पति उद्यानमा दिवस मनाइएको हो । दिवसका अवसरमा नयाँ वर्षको २०७९ को शुभकामना आदान प्रदान तथा वृक्षारोपण समेत गरिएको छ ।
वनस्पति विभागको ६२ औँ वार्षिक उत्सवका तथा २३ औँ वनस्पति दिवसका अवसरका वृक्षारोपण कार्यक्रम पछि शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले लोपोन्मुख वनस्पतिको अनुसन्धान तथा संरक्षणमा जोड दिनु पर्ने बताउनुभयो । धिताचौर वनस्पति उद्यानलाई पिक्नीक स्पोर्ट नभई पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो ।

वनस्पतिको अध्ययन अनुसन्धान गर्ने ठाउँलाई पिक्नीक स्पोर्ट बनाउनु उचित नभएको भन्दै स्थानीय सरकारको सहयोग समन्वयका धिताचौर वनस्पति उद्यानलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन तर्फ पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
चन्दननाथ नगरपालिका १ का वडाध्यक्ष जयबहादुर रावत र गुठिचौर गाउँपालिका ५ का वडाध्यक्ष चन्द्र नेपालीले लोपोन्मुख वनस्पतिको अनुसन्धानमा वनस्पति कार्यालयले ध्यानदिनु पर्ने बताउनुभयो । धिताचौरमा आन्तरिक पर्यटकको भिड बढ्दो भएकोले सुरक्षा व्यवस्था मजबुत बनाउनु पर्ने उहाँहरूको सुझाव छ ।
वनस्पति अनुसन्धान केन्द्र जुम्लाका कार्यालय प्रमुख रमेश बस्नेतले हाल जुम्लामा ६१ प्रकारका वनस्पतिको अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“वनस्पति मानव जीवनको अभिन्न अङ्ग हो । वनस्पति अनुसन्धान केन्द्रले वनस्पतिको वैज्ञानिक पहिचान, नामकरण, प्रशोधन तथा अनुसन्धानको काम गर्छ । जुम्लामा पाइने वनस्पतिको संरक्षण तथा अनुसन्धानमा जोड दिएका छौ ।”

सबैको साझा सहयोगले धिताचौर वनस्पति उद्यानलाई वनस्पतिको अनुसन्धान स्थलका साथै आन्तरिक पर्यटकका लागि आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिने भएकोले आम सरोकारवालाको सहयोगको खाँचो रहेको उल्लेख गर्नु भयो ।
शुभकामना आदान प्रदान कार्यक्रमको सञ्चालन वनस्पति अनुसन्धान केन्द्र जुम्लाका तेज बहादुर दर्जीले गरेका थिए । वनस्पतिको संरक्षणका लागि प्रचारप्रसार तथा अनुसन्धानमा जोड दिनुपर्ने उहाँको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्