तपाईँ सुन्दै हुनुहुन्छः

उद्योगमन्त्री बडू र क्यानडाका राजदूतबीच भेटवार्ता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि क्यानडाका गैरआवासीय राजदूत क्यामेरोन डिन म्याक्यीले शिष्टाचार भेट गर्नुभएको छ ।भेटघाटमा नेपाल र क्यानडाबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

भेटमा मन्त्री बडूले नेपालको विकासमा क्यानडाले गरेको सहयोगको प्रशंसा गर्नुहुँदै कोभिड—१९ महामारीमा स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुका साथै कोभिड पछिको समयमा पनि सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो । यसप्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन थप महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुहुँदै मन्त्री बडूले नेपालको विकास प्राथमिकताअनुरूप विगतमा झैँ क्यानडा सरकारले आगामी दिनमा पनि नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

पाँच दशक लामो दुई पक्षीय कूटनीतिक सम्बन्ध सौहार्दपूर्ण रहेको र नेपालको लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रिया तथा विकासमा समेत क्यानडा सरकारको सहयोग प्रशंसनीय रहेको उल्लेख गर्नुहुँदै माननीय मन्त्रीज्यूले व्यापार सहजीकरण तथा कृषि, ऊर्जा, पूर्वाधार, पर्यटन र मानव संसाधन विकासका क्षेत्रमा नेपालमा लगानी बढाउन अनुरोध गर्नुभयो । 

छलफलमा महामहिम राजदूतले नेपाल सदैव क्यानडाको प्राथमिकतामा रहेको र दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउन उद्योग, व्यापार, सूचना प्रविधि, शिक्षालगायत विभिन्न क्षेत्रमा लगानी वृद्धि गर्न सकिने बताउनुभयो । क्यानडा सरकार तथा अन्य लगानीकर्ताहरूमार्फत थप लगानी वृद्धि गर्न तयार रहेको बताउनुहुँदै महामहिम राजदूतले लगानीमैत्री वातावरण र लगानीको सुरक्षाको प्रत्याभूतिमार्फत लगानीकर्तामा विश्वास सृजना गर्नुपर्ने बताउनुभएको थियो ।  

कार्यक्रममा मन्त्रालयका सम्बन्धित क्षेत्र हेर्ने सहसचिवलगायतका कर्मचारीहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button