तपाईँ सुन्दै हुनुहुन्छः

भीमेश्वर र जनकपुरधामबीच भगिनी सम्बन्ध

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका र धनुषाको जनकपुरधाम उप महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । 

नागरिक–नागरिक बीचको सम्बन्ध तथा सहकार्य र सांस्कृतिक सहकार्यको लागि भगिनी सम्बन्ध कायम गरिएको भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले बताउनुभयो । 

शनिवार भीमेश्वर नगरपालिकाको कार्यालयमा भएको विशेष कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले समझदारी पत्र आदान प्रदान गर्नुभएको थियो । 

उक्त समझदारी पत्रमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय र भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काको रोहवरमा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह र भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीले हस्ताक्षर गर्नुभएको छ 

भीमेश्वर नगरपालिका र जनकपुरधाम उप महानरपालिकाबीच भएको भगिनी सम्बन्धले नेपालको बहुसाँस्कृतिक, बहुभाषिक तथा भौगोलिक विविधताको राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने, दोलखा– जनकपुरमा सांस्कृतिक कोरिडोरको विकास गरी आर्थिक समृद्धिको साझा अवसरहरू विस्तार हुने, दोलखा– जनकपुरधाम हुँदै चीन र भारतसँग जोड्ने छोटो दूरीको त्रिदेशीय कोरिडोरमार्फत बृहत् सांस्कृतिक, आर्थिक एकीकरणबाट हुने समृद्धिको सम्भावनालाई साकार पार्न प्रयत्न गर्ने, दुई नगर बीचको बहुसाँस्कृतिक एकता, हिमाल तराई मित्रताको रुपमा विकास गर्ने लगायतका कुरामा सहयोग पुग्ने अपेक्षा लिइएको भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनुभयो । 

भीमेश्वर नगरपालिकाका प्रमुख भरतबहादुर केसीको सभापतित्वमा सम्पन्न समझदारी पत्र आदान प्रदान कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लाल किशोर शाह, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्नप्रसाद उपाध्याय, भीमेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्का, बिबिसीका पत्रकार ब्रिज कुमार यादव, भीमेश्वर संस्कृति प्रतिष्ठान, भानु विद्यापति साहित्यिक प्रतिष्ठानका अध्यक्ष शङ्करलाल श्रेष्ठ, सल्लाहकार बृर्ख क्षेत्री र सचिव सुन्दर खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button