तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कल्पना गरेभन्दा बढी पर्यटक आउने सम्भावना छ : अध्यक्ष तिमिल्सिना

बागलुङ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राजनीतिक दलहरूले सत्ताभन्दा माथि जनताको हितका विषयमा काम गर्नुपर्ने बताउनुभएको छ  । 

नेतालाई सत्तामा पुर्‍याउने र उनीहरूको हितका लागि मात्रै काम गर्ने परिपाटीको विकास भएको भन्दै उहाँले जनताको जीवनस्तर उकास्ने खालका काम गर्नुपर्नेमा जोड दिनुभयो  ।

“अब हरेक जनताले सोध्नुपर्ने हुन्छ, जनताले भोट हालेर तपाईँलाई सत्तामा पुर्‍याउने, तपाईँहरू सत्तामा आलोपालो गर्ने, भागबन्डा गर्ने, कुर्सीको मात्रै चिन्ता गर्ने जनताको हित हुने गरी विकास र समृद्धि कहिले ल्याउने ?” उहाँले भन्नुभयो “मतदान गर्नु पूर्व सबैले सोधेर मात्रै मतदान गर्ने बेला आएको छ ।”

बागलुङ कालिका भगवती गुठीले आयोजना गरेको चैत्राष्टमी मेलाको शनिबार बागलुङमा उद्घाटन गर्नुहुँदै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने वातावरण बनाउन सरकार, राजनीतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्ने बताउनुभयो  । 

अध्यक्ष तिमिल्सिनाले जन निर्वाचित प्रतिनिधि सत्ता र शक्तिका लागि मात्र केन्द्रित रहेको  टिप्पणी गर्नुभयो ।

स्थानीय तहको निर्वाचनलाई जनताले अधिकतम प्रयोग गर्दै सक्षम जनप्रतिनिधि छनोट गर्ने विश्वास व्यक्त गर्नुहुँदै उहाँले त्यसका लागि सरकारले सकारात्मक वातावरण तयार पार्नुपर्ने बताउनुभयो  । 

उहाँले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदो गतिमा गएको बताउनुभयो  । उहाँले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकहरू आउने सम्भावना रहेको बताउनुभयो  । 

“चैते दसैँ बागलुङको पहिचान मात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन” अध्यक्ष तिमिल्सिनाले भन्नुभयो “अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछन् ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button