तपाईँ सुन्दै हुनुहुन्छः

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

fफाइल तस्बिर

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल–भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराइएको छ । 

होटल खाली गर्न सूचना लिएर गएको कोषको टोलीलाई बतास समूहको होटल आनन्दका कर्मचारीले गेटमै रोकेपछि कोषले गेटमै ताल्चा लगाएर बन्द गराएको हो । 

होटल बन्द गराउनका लागि पत्र लिएर गएको सरकारी टोलीलाई बतास समूहका कर्मचारीले होटलभित्र छिर्न नदिएपछि शुक्रवार साँझ कोषले बाहिरबाटै होटलमा ताला लगाएको हो । 

कोषले गेटमै सूचना टाँसेर होटलमा भएका सामग्री नचलाउन जानकारी गराएको विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताउनुभयो । 

उहाँले भन्नुभयो, “हामीलाई भित्र छिर्नै दिइएन, हामीले गेटमै ताल्चा लाएर फर्कियौँ ।” पशुपति क्षेत्र विकास कोष तथा होटल आनन्दबीच भएको सम्झौताअनुसार काम नभएको भन्दै कोषले गत चैत १७ मा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रालिसँग भएको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । 

गएको सोमबार पशुपति क्षेत्र विकास कोषले होटल आनन्द प्रालिले सञ्चालन गरेको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको थियो । 

सूचनामा धर्मशालामा रहेका सरसामान हटाउन भनिएको छ । पशुपतिस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको गएको सोमबार तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ । 

कोषका कोषाध्यक्ष सुवेदीको संयोजकत्वमा धर्मशाला भाडामा दिने विषयमा गरिएको सम्झौताका सम्बन्धमा गठित छानबिन समितिले होटल आनन्द प्रालिसँगको सम्झौता खारेजको सुझाव दिएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button