‘विकास निर्माणको काममा राजनीति गर्न हुँदैन’
विराटनगर । नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विकास निर्माणको काममा राजनीति गर्न नहुने बताउनुभएको छ ।

सुनसरीको बर्जू गाउँपालिका–४ मा निर्माण गर्न लागिएको बर्जू आधारभूत अस्पतालको शिलान्यास गर्नुहुँदै उहाँले सङ्घीयता कार्यान्वयनसँगै हरेक पालिकामा विकास निर्माणको कामले गति लिएको बताउनुभयो । सङ्घीयतालाई बलियो बनाउन जनचाहना अनुरूप विकास निर्माणको काममा जनप्रतिनिधि लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले सीमावर्ती क्षेत्रसँग जोडिएको सुनसरी जिल्लाका दक्षिणी भेगमा सुविधा सम्पन्न अस्पताल नहुँदा उपचारका लागी विराटनगर जानुपर्ने अवस्था रहेकाले अस्पताल सञ्चालनमा आएपछि बिरामीले गाउँ घरमै सहज उपचार पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेता गच्छदारले वैशाख–३० गते हुन लागेको स्थानीय तहको निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा बर्जू गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरी, उपाध्यक्ष सङ्गीताकुमारी राय तथा वडाध्यक्ष किशोर चौधरी तथा सम्पतलाल चौधरीले अस्पतालको निर्माण कार्य समयमा सम्पन्न हुनुपर्नेमा जोड दिनुभयो ।
२४ करोड लागतमा निर्माण हुने अस्पताल १५ शैयाको रहने र निर्माण कार्य आगामी दुई वर्ष भित्रमा सम्पन्न हुने जनाइएको छ ।
अस्पतालका निर्माणका लागी स्थानीय जिवेश्वर यादवले १५ कठा १० धुर जग्गा उपलब्ध गराउनुभएको वडाध्यक्ष किशोर चौधरीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्