मकवानपुरमा टाइफाइड विरुद्धको खोप अभियान सुरु
मकवानपुर । मकवानपुरमा नेपाल सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि पहिलो पटक सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको आज शुभारम्भ भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका स्थित भोजसिद्ध माविमा सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बिरोध खतिवडाले अभियानको शुभारम्भ गर्नुभयो ।

अभियानको शुभारम्भ गर्नुहुँदै मन्त्री खतिवडाले सबैलाई नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन अनुरोध गर्नुभयो । उहाँले १५ महिनादेखि १५ वर्ष उमेर समूहका आफ्ना बालबालिका खोप लगाएर अभियान सफल बनाउन सबै क्षेत्रका सरोकारवालालाई आव्हान गर्नुभयो ।

आजबाट सुरु भएर वैशाख १८ गतेसम्म सञ्चालन हुने अभियानमा मकवानपुरका एक लाख ८ हजार ४८६ जना बालबालिका लाभान्वित हुने छन् । जिल्लामा कुल ६०८ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । अभियानमा ८७० जना खोप कर्ता र एक हजार ३९० जना स्वयंसेवक परिचालित हुने छन् ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख भीमसागर गुरागाईँले लक्षित समूहको ८० प्रतिशत बालबालिकालाई विद्यालयमै खोप लगाइने जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्