श्रीलङ्काको केन्द्रीय बैङ्कमा नयाँ गभर्नर नियुक्त
कोलम्बो । श्रीलङ्काको केन्द्रीय बैङ्कको गभर्नरमा नयाँ नियुक्ति गरिएको छ ।
सरकारले वरिष्ठ अर्थशास्त्री डा.नन्दलाल वीरासिङ्घे नयाँ गभर्नर बनाएको केन्द्रीय बैङ्कले जनाएको छ ।
सरकारले उहाँसँगै के एमएम सिरिवार्धनालाई अर्थ मन्त्रालयको नयाँ सचिवको जिम्मेवारी दिएको छ । उहाँहरूलाई राष्ट्रपति गोटाबाय राजापाक्षेले बिहीबार नियुक्ति पत्र दिनुभएको छ।
गभर्नरमा नियुक्त वीरासिङ्घे कोलम्बो विश्वविद्यालयमा कार्यरत हुनुहुन्थ्यो । अर्थशास्त्रमा गहिरो अध्ययन गर्नुभएका उहाँले अर्थशास्त्र सम्बन्धी अनुसन्धान र अध्यापन पनि गर्दै आउनुभएको छ ।
उहाँ मलेसियाको वियसान केन्टरमा पनि आबद्ध हुनुहुन्छ भने अष्ट्रेलियाको राष्ट्रिय विश्वविद्यालयमा सार्वजनिक नीति र व्यवहारिक अर्थतन्त्र विश्लेषण केन्द्रको सल्लाहकार समिति सदस्य हुनुहुन्छ ।
त्यसैगरी अर्थ सचिवमा नियुक्त सिरिवर्धनाले अन्तर्राष्ट्रिय वित्तीय कोषको तर्फबाट श्रीलङ्का, भारत, बङ्गलादेश र भुटानका लागि वैकल्पिक निर्देशकको रुपमा काम गर्नु भएको थियो ।
उहाँले श्रीलङ्काको आर्थिक विभागको महानिर्देशकको रुपमा समेत अर्थतन्त्रमा योगदान गरिसक्नुभएको छ । राष्ट्रपति राजापाक्षेले यसअघि गत बुधवार अर्थशास्त्री तथा विज्ञहरूलाई सहभागी गराएर सल्लाहकार समूह गठन गर्नुभएको थियो ।
श्रीलङ्कामा अहिले आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि उत्पन्न भएको छ । तत्कालीन मन्त्रीहरूले राजीनामा दिएका छन् भने आम नागरिक आन्दोलनमा छन् । रासस/एएनआई







प्रतिक्रिया राख्नुहोस्