तपाईँ सुन्दै हुनुहुन्छः

हरिसिद्धि नाच दोलखामा प्रदर्शन

तस्विरः दोलखामा प्रदर्शन गरिएको हरिसिद्धि नाच

दोलखा । पाँच सय वर्ष भन्दा पुरानो हरिसिद्धि नाच ऐतिहासिक दोलखा सहरमा प्रदर्शन गरिएको छ । प्रत्येक १२ वर्षमा प्रदर्शन गरिने हरिसिद्धि नाच चैत्र २१ गतेबाट तीन दिनसम्म दोलखा सहरमा प्रदर्शन गरिएको हो । वरिष्ठ कलाकार मदनदास श्रेष्ठका अनुसार यो नाच दोलखामा झण्डै एक सय ६० वर्ष पछि प्रदर्शन गरिएको हो ।

हरिसिद्धि नाचको प्रदर्शन कहिलेदेखि सुरु भयो भन्ने यकिन तथ्य भेटिएको छैन । यो नाच चक्रवती राजा विक्रमादित्यले भारतबर्षमा सुरु गरेको मानिन्छ । विक्रम संवत् १५६० मा मल्लकालीन राजा महेन्द्र मल्लले ९ वटा मुकुट थपेर ललितपुर र पशुपति सहित उपत्यका बाहिर पनौती, धुलिखेल लगायतका ठाउँमा समेत प्रदर्शन गर्ने परम्परा चलाएको तथ्य भेटिएको छ । यो हरिसिद्धि देवीको जात्रा नेपालकै पहिलो मुकुट जात्रा मानिन्छ ।

दोलखा सहरमा भने विक्रम संवत् १६१६ मा तत्कालीन मल्ल राजा अमर मल्लले ल्याएको देवमाला वंशावलीमा उल्लेख भएको अमेरिकी शोधकर्ता डा. लिण्डा उल्टीले उल्लेख गरेका छन् । अमेरिकी सोधकर्ता डा. लिण्डा उल्टीले २०४२ सालमा प्रकाशन गरेको एक लेखमा दोलखा सहरमा समेत हरिसिद्धि नाच प्रदर्शन हुने गरेको कुरा उल्लेख गरेका हुन् । 

डा. लिण्डाको लेखकै आधारमा हरिसिद्धि नाचका देवगण सहित स्थानीयले खोजी गर्दा दोलखा सहरको तल्लो टोलमा नाच देखाउने हरिसिद्धि डबली भेटिएको हरिसिद्धि नाच प्रदर्शन व्यवस्थापन गर्न बनेको स्थानीय समितिका संयोजक प्रविण प्रधानले बताए । डबलीसँगै हरिसिद्धि देवीको मन्दिर समेत रहेको छ । उक्त डबलीमा दसैँ जस्ता पर्वहरूमा कार्यक्रम हुने गरेको भएपनि हरिसिद्धि नाच प्रदर्शन गरिने डबली भएको कुरा भने स्थानीयलाई थाहा नभएको प्रधान बत्ताउँछन् ।

तस्विरः दोलखामा प्रदर्शन गरिएको हरिसिद्धि नाच

हरिसिद्धि नाच दोलखामा कहिलेसम्म ल्याइयो र किन ल्याउन बन्द गरियो भन्ने तथ्य भेटिएको छैन । हरिसिद्धिका देवगण रमेश महर्जन ९५ वर्षको उमेरमा हालसालै बित्नु भएका देवगणले समेत आफूले दोलखामा हरिसिद्धि नाच प्रदर्शनको लागि लगेको जानकारी नपाएको बताएकोले यो नाच एक शताब्दी भन्दा अघिदेखि दोलखा लान छोडेको अनुमान गर्न सकिने बत्ताउँछन् । 

हरिसिद्धि नाच दोलखामा कहिलेसम्म प्रदर्शन गरिएको थियो र बीचमा किन बन्द भयो भन्ने विषयको खोजी गरिने नाच प्रदर्शनको स्थानीय समितिको आर्थिक संयोजक समेत रहनु भएका वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताउनु भयो । ललितपुरबाट धुलिखेल हुँदै दोलखा आएको हरिसिद्धि नाच प्रदर्शन सूमह करिब एकसय देवगण सहभागी रहेको स्थानीय शान्त श्रेष्ठले बताए । 
भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसी १२ वर्षमा एक पटक प्रदर्शन गरिने प्रसिद्ध हरिसिद्धि नाच दोलखामा पनि ल्याइन्थ्यो भन्ने तथ्यले दोलखाको ऐतिहासिकतालाई थप पुष्टि गरेको बत्ताउँछन् । यसले ललितपुर, धुलिखेल, दोलखा लगायतका ठाँउहरु बीच संस्कृति आदान प्रदानमा समेत सहयोग पुग्ने नगरप्रमुख केसीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button