थुनुवालाई तातोपानी खन्याई यातना दिने प्रहरी कारबाहीमा
वीरगंज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का २५ वर्षीय विजय श्रेष्ठलाई थुनुवा कक्षमा यातना दिएको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय पर्साले दुई जना प्रहरीमाथि कारबाही सुरु गरेको छ ।
गत शनिवार राति १० बजे घण्टाघर चोकबाट स्थानीय युवक श्रेष्ठलाई नियन्त्रणमा लिई सोही रात थुनुवा कक्षमा यातना दिएको पुष्टि भएपछि प्रहरीद्वय लालबाबु साह र फिरोज अन्सारीलाई निलम्बन गरी कारबाही सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।
प्रहरीले दिएको यातनाको बारेमा सार्वजनिक गरेमा उल्टै युवकलाई लागूऔषध मुद्दामा फसाउने धम्की समेत दिइएको पीडित युवकले बताएका थिए ।
प्रहरीले शनिवार पक्राउ गरी हिरासतमा घाइते बनाइएका श्रेष्ठलाई आइतबार बिहानै वीरगंज महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष मनोज कलवारको जिम्मा लगाएर छाडेको थियो ।
घटना सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय पर्साका उच्च प्रहरी अधिकारीले युवकलाई बोलाएर तातो पानी खन्याएको सम्बन्धमा थप जानकारी लिएको थियो ।
युवकको जानकारी पछि प्रहरीले गरेको आन्तरिक अनुसन्धानमा दोषी पाइएका प्रहरीद्वय साह र अन्सारी विरुद्ध विभागीय कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवं डिएसपी खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्