तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइडको खोप लगाइँदै

सल्यान । सल्यानका ८४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानले १५ महिनाभन्दा माथि र १५ वर्षभन्दा तल उमेर समूहका ८४  हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने भएको हो । कार्यालयका अनुसार  जिल्लाका १०  वटै पालिकामा यही चैत्र २५ गतेबाट खोप अभियान सञ्चालन गरिने भएको छ  ।

स्वास्थ्य सेवा कार्यालय सल्यानले १५ महिना देखि ४ वर्ष सम्मका १७ हजार ९ सय ८३ बालबालिकालाई ए .एम. आइ. एस अनुसार र ५ देखि १५ वर्ष सम्मका ६६ हजार ५३  बालबालिकालाई विद्यालयको तथ्यगत आधारमा टाइफाइड विरुद्ध खोप लगाइने जानकारी गराएको हो ।

खोप लगाउनको लागि जिल्ला भर ४ सय ९ वटा खोप केन्द्र तोकिएको छ भने ५ सय ९० जना स्वास्थ्यकर्मी र १ हजार १ सय ३२ जना स्वास्थ्य स्वयंसेविकालाई खटाइने निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार चैत २५ गते देखि वैशाख ९  गतेसम्म खोप अभियान लगाइने छ  । शारदा नगरपालिकामा चैत २५ गते देखि चैत  ३० गते सम्म, बनगाड कुपिण्डे नगरपालिकामा चैत २७ गते देखि चैत्र २ गते सम्म, बागचौर नगरपालिकामा चैत २८ गते देखि वैशाख ४ गते सम्म टाइफाइड विरुद्धको खोप लगाइने भएको छ ।

यस्तै कालीमाटी गाउँपालिका, दार्मा गाउँपालिकामा चैत २५ गतेदेखि चैत  ३० गते सम्म, त्रिवेणीमा चैत २७ गते देखि चैत २, कुमाख गाउँपालिकामा चैत २७ देखि वैशाख ४, छत्रेश्वरी गाउँपालिकामा चैत २७ देखि वैशाख २ गते सम्म, कपुरकोट गाउँपालिकामा वैशाख ४ देखि ९, सिद्धकुमाख गाउँपालिकामा वैशाख ३ देखि ८ गते सम्म खोप लगाइने श्रेष्ठको भनाई छ  । एसइईलाई मध्यनजर गर्दै हरेक विद्यालयमा गएर स्वास्थ्यकर्मीले खोप लगाउने उनको भनाई छ ।

जिल्लामा ६० हजार भाईल खोप आइसकेको र बाँकी आउने क्रममा रहेको निमित्त स्वास्थ्य व्यवस्थापन दशरथ श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button