प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा टाइफाइडविरुद्धको खोप अभियान उद्घाटन

काठमाडौँ ।प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइडविरुद्ध राष्ट्रिय खोप अभियानको आज शुभारम्भ गर्नुभएको छ ।
रानीपोखरीस्थित दरबार हाइस्कुलमा आयोजित एक समारोहमा प्रधानमन्त्री देउवाले स्वास्थ्यकर्मीलाई टाइफाइडविरुद्धको खोप क्यारियर हस्तान्तरण गर्नुभई खोप अभियानको शुभारम्भ गर्नुभयो ।

नेपालमा जनस्वास्थ्य समस्याका रुपमा रहेको टाइफाइट रोग नियन्त्रण गर्न खोप अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले सबै बालबालिकालाई निर्धक्क भएर खोप लगाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले दक्षिण एसियामै पहिलो पटक टाइफाइट विरुद्धको खोप नेपालबाट सुरु गरिनुले सरकार जनताको स्वास्थ्यप्रति चिन्तित रहेको छ भनी प्रमाणित गरेको बताउनुभयो ।

विश्वमा उत्पादन भएका १६ प्रकारका खोपमध्ये नेपालमा १२ प्रकारका खोपलाई राष्ट्रिय खोप अभियानमा समावेश गरिएको जानकारी दिनुहुँदै स्वास्थ्य मन्त्री खतिवडाले निकट भविष्यमा अरू खोपहरू पनि क्रमशः अभियानका रुपमा ल्याइने बताउनुभयो ।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले केन्द्र सरकारले सञ्चालन गर्न लागेको खोप अभियान सफल पार्न प्रदेश सरकार तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका सबै बालबालिकालाई खोप लगाउन ६ सय वटा विद्यालयहरूमा स्वास्थ्यकर्मीहरू खटाइएको जानकारी दिनुभयो ।
राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिएको टाइफाइड खोप १५ महिना देखि १५ वर्षसम्मका बालबालिकालाई चैत २५ गतेबाट लगाइदैछ ।खोप अभियानअन्तर्गत करिब ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्