झापाको भद्रपुरमा ६६ जना युवा कृषकलाई टनेल वितरण

भद्रपुर, झापा । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले नगरभित्रका युवाहरूलाई व्यावसायिक रुपमा बेमौसमी खेती गर्न प्रोत्साहित गर्दै उद्यमी बनाउने उद्देश्यले टनेल वितरण गरेको छ ।
नगरपालिकाले नगरप्रमुख लघु उद्यम कार्यक्रममार्फत भद्रपुरका १० वटै वडाबाट ६–६ जना युवा कृषि उद्यमी छनोट गरी ६० जनालाई निःशुल्क रुपमा टनेल वितरण गरेको हो ।
आज बिहान नगरपालिका परिसरमा आयोजित एक संक्षिप्त समारोहका बीच टनेल वितरण गरिएको भद्रपुरका रोजगार संयोजक टिकाराम पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकाको युवा परिषद्का कार्यकारी उपाध्यक्ष सरोज ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, ७ नं वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ५ नं वडाध्यक्ष बन्धु कार्की, ३ नं वडाध्यक्ष कमला थुलुङ, २ नं वडाध्यक्ष भीम केरुङलगायतले टनेल वितरण गर्नुभएको थियो ।
नगरभित्रका युवालाई विदेश पलायनबाट रोक्दै आफ्नै ठाउँमा व्यावसायिक कृषि उद्यमी बनाउन सहयोग पुग्ने सोचका साथ आ.व. ०७८–०७९ को बजेटमा युवा लक्षित कार्यक्रम राखेर उद्यमी बन्न चासो देखाएका युवालाई टनेल वितरण गरिएको र यसका लागि नगरपालिकाले ३ लाख रुपैयाँ खर्च गरेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आगामी वर्षहरूमा पनि युवालक्षित प्रभावकारी र उपलब्धिमूलक कार्यक्रमहरू नगरपालिकाले सञ्चालन गर्न सक्ने गरी त्यसका आधारहरू तयार गरिसकिएको बताउनु भयो ।
निःशुल्क रुपमा टनेल पाएका युवाहरूले नगरपालिकाको कामको प्रशंसा गर्दै अब आफूहरू व्यावसायिक रुपमा बेमौसमी खेती गर्न उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्