एक वर्षदेखि थलिएकी ७६ वर्षीया सेतु कामीको उद्धार
जाजरकोट । आर्थिक अभावले उपचार नपाएर एक वर्षदेखि थलिएकी जाजरकोटको नलगाड नगरपालिका–१, चिउरीकी ७६ वर्षीया सेतु कामीको उद्धार गरिएको छ । कामीलाई उद्धार गरी उपचारको लागि सुर्खेत लगिएको हो ।

पत्रकार प्रकाश पन्तको पहलमा आइएनएफ सुर्खेतले उद्धार गरेको हो । उपचार नपाएर दुवै खुट्टा गल्न लागेकी सेतुलाई सुर्खेत पुर्याइ कर्णाली केयर अस्पतालमा निःशुल्क उपचार थालिएको छ ।
सेतुको स्वास्थ्य अवस्था र परिवारको समस्याबारे बुझ्न दुई हप्ताअघि पत्रकार पन्त घरमै पुगेर जानकारी लिनुभएको थियो । आर्थिक अभावले गर्दा अस्पतालसम्म जान नपाएको जानकारी भएपछि आइएनएफ सुर्खेतले उद्धार गरी अस्पतालसम्म पुर्याउने व्यवस्था मिलाएको आइएनएफका उदय हमालले जानकारी दिनुभयो ।

पत्रकार पन्तको पहलमा निःशुल्क उपचार हुने भएपछि कामीको परिवार खुसी देखिन्छ ।
सेतुका छोरा शसेसहित परिवारका पाँच पनि अपाङ्ग छन् । कामको लागि ५ बर्ष अघि भारतको लदाख गएको बेला हिउँमा परी शसेका हात खुट्टा गुमेका थिए ।

शसेलाई आइएनएफले ४५ हजार भन्दा बढी पर्ने ह्वील चेयर सहयोग गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्