बाँकेमा ट्राफिकले उठायो ६० लाख राजश्व

नेपालगञ्ज। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले साढे तीन महिनाको अवधिमा ६० लाख बढी राजश्व सङ्कलन गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहका अनुसार पुष यता अहिलेसम्म १० हजार ९ सय सवारी साधन कारबाहीमा पर्दा ६० लाख २३ हजार रुपैयाँ राजश्व उठेको छ ।
मापसे गरेर कारबाहीमा परेको सङ्ख्या पनि उल्लेख्य रहेको ट्राफिक प्रहरीले जनाएको छ । पुषमा ६४ जना सवारी चालक मापसे कारबाहीमा पर्दा ६४ हजार, माघमा २४ जनाबाट २४ हजार, फागुनमा ५२ जना मापसे कारबाहीमा पर्दा ५२ हजार र चैतको १७ गतेसम्म ५ जनाबाट ५ हजार राजश्व सङ्कलन भएको छ ।
बाँकेमा यो अवधिमा ५८ सवारी साधन दुर्घटनामा परेका छन् । गत पुस १ गतेदेखि चैत्र १७ गते सम्मको अवधिमा साना तथा ठुला गरी ५८ सवारी साधन दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । यो दुर्घटनाको सङ्ख्या पहिलाको तुलनामा कम हो ।
दैनिकरुपमा चालक, सहचालक तथा पैदलयात्रीलाई समेत ट्राफिक सचेतना दिँदै आएकाका कारण पछिल्लो समय दुर्घटनामा कमी आएको ट्राफिक प्रमुख शाहले बताउनुभयो । दैनिक मापसे जाँचमा कडाइ गर्नुका साथै नियमित चेकिङ भइरहेको शाहको भनाई छ ।








प्रतिक्रिया राख्नुहोस्