राष्ट्रपतिद्वारा बाग्मती प्रदेशकै दोस्रो ठुलो विद्यालय थाङपाल भ्याली माविको उद्घाटन

सिन्धुपाल्चोक । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्मती प्रदेशकै दोस्रो ठुलो विद्यालय थाङपाल भ्याली मा.वि.को आज उद्घाटन गर्नुभएको छ ।
बागमती प्रदेशभित्र बृहत् विद्यालयका रुपमा सञ्चालनमा आउने थाङपाल भ्याली मा.वि. प्रदेशभित्रकै दोस्रो विद्यालय आज एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो ।

पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रुपमा रहेको थाङपाल भ्याली मावि ४ वटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय एसियाली बैङ्क (एडिबी)को २४ करोड सहयोगमा निर्माण गरिएको हो । पालिका भित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो ।
प्राकृतिक रुपमा सुन्दर तर भूगोलको हिसाबले विकट यो विद्यालयमा कम्प्युटर प्रयोगशाला, खाजा घर, छात्रावासको व्यवस्था, बालमैत्री संरचना तथा स्कुल बसको व्यवस्थापन भएको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले जानकारी दिनुभयो ।
ग्रामीण भेग शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि, सस्तो, सुलभ र सहज रुपमा सम्पुर्ण विद्यार्थीले गुणस्तर शिक्षा प्राप्त गर्ने उद्देश्यले पालिकाले ड्रिम प्रोजेक्टका रुपमा सो विद्यालय निर्माण गरेको समेत अध्यक्ष लामाले बताउनुभयो ।
गाउँपालिका र वडाको सहकार्यमा २६ रोपनी जग्गा व्यवस्था गरी ५४ कोठे पाँच वटा प्राविधिक भवन निर्माणको काम गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो । विद्यार्थी, शिक्षक र आवश्यक स्रोतको उचित समायोजनमा सहजताका साथै समयसापेक्ष शिक्षा प्रणालीमा ग्रामीण भेगका विद्यार्थीको पनि पहुँच पुर्याउने उद्देश्य रहेको समेत उहाँले बताउनुभयो ।

विद्यालय निर्माण गर्न केन्द्र सरकार, प्रदेश सरकार, जनप्रतिनिधि, वडावासी तथा आर्थिक सहयोग गर्ने एडिबीप्रति आफूहरू आभारी रहेको उहाँको भनाइ छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै पाठ्यक्रम मेरो पाँचपोखरी तयार पारेर पठनपाठन सुरु गरेको छ । कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम गाउँपालिका आफैँले तयार गरी पठनपाठन सुरु गरेको हो । जिल्लाको दुर्गम भेग पाँचपोखरी थाङपाल गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रमसहितको पाठ्यपुस्तक सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, पूर्व मन्त्री शेरबहादुर तामाङलगायत उपस्थित हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्