तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमै पहिलो रम्वास कविता सङ्ग्रह सार्वजनिक 

तनहुँ । तनहुँका स्रष्टा शेषमणि आचार्यले नेपालमै पहिलोपटक रम्बास कविता सङ्ग्रह सार्वजनिक गर्नुभएको छ ।  कवि निवास  दुलेगौंडामा ९६ वर्षीय माता मधुमालती आचार्यले घुम्टो खोलेर कविता सङ्ग्रह ‘डाली’ विमोचन गर्नुभएको थियो ।

रम्बास कविता ज्यामितीय आकार भएको कविता हो । १ सय शब्द रहने कवितामा १ शब्दबाट सुरु भई १० शब्द बढ्दो क्रममा र १० बाट १ सम्म घट्दो क्रममा शब्द रहेका हुन्छन् । शीर्षक समेत एक शब्दकै रहेका हुन्छन् । आचार्यको रम्बास कविता सङ्ग्रहमा १ सय २ कविता समावेश गरिएको छ ।

भारतमा आसम निवासी नेपाली भाषी मिलन बोहोराले रम्बास कविताको शुभारम्भ गर्नुभएको थियो । कोभिड १९ बाट सृजित समस्याले घरमै स्रष्टाहरू थुनिदा रम्बास कविताको शुभारम्भ भएको हो । कार्यक्रममा रम्बास कवि शिव कुमार श्रेष्ठ, साहित्यकार डा. कालु शर्मा, दधिराज सुवेदी लगायतले आचार्यको साहित्य,  राजनीति र शिक्षा क्षेत्रमा महत्त्वपूर्ण योगदान रहेको बताउनुभयो । कृतिको समीक्षा जनार्दन दाहालले गर्नुभएको थियो ।  शुक्ला साहित्य संगमका कार्यवाहक अध्यक्ष रामशरण गैह्रेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सरस्वती घिमिरेले गर्नुभएको थियो । 

साहित्यकार आचार्यका यसअघि समावादबारे केही कुरा, केही पारिभाषिक शब्द, माक्र्सवादपूर्वको दार्शनिक विकास, मलाई एउटा बाँसुरी देऊ, हाम्रो यात्राको सिंहावलोकन, पिताको पत्र पुत्रलाई, हामी कविता श्रृखंला लगायतका कृतिहरू प्रकाशित भइसकेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button