सुनसरीको समग्र विकासका लागि मन्त्री कार्कीको प्रतिबद्धता

इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी जिल्लाको समग्र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिकामा आज ‘घरघर जाऊ, कांग्रेस जिताऊ’ अभियानलाई सम्बोधन गर्दै उहाँले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, विद्युत् सेवा विस्तार, मठमन्दिर निर्माणलगायत विकास–निर्माणका काममा आफूले सक्दो प्रयास गरिरहेको बताउनुभयो ।
सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनमा कांग्रेस विजयी नहुँदा समाजको विकासमा नकारात्मक असर पर्ने भएकाले आउने निर्वाचनमा आफ्ना पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।
कार्यक्रममा कांग्रेस सुनसरी क्षेत्र नं ४ का सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, पार्टी नेता रमेश कटुवाल, रेवतीरमण दुलाल, रमेश कार्कीलगायतका वक्ताले जिल्लाको विकासमा सबै निकायको सहयोग आवश्यकता औँल्याउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्