तपाईँ सुन्दै हुनुहुन्छः

कहिलेदेखि कसरी शुरु भयो र कस्तो छ त समाचार प्रसारणको सात दशक ?

प्रारम्भ:
२००७ को जनक्रान्ति सफल भयो । तारिणीप्रसाद कोइरालासहितको एक समूह काठमाडौँ आयो । यहाँ आइसकेपछि उनीहरूले ठाउँको खोजी गरे । धेरै मान्छेहरूको भेला गरे र वैठकहरू चलाए । पहिलो वैठक सुब्बा ऋद्धिबहादुर मल्लको जोर गणेश प्रेस रहेको पाको पोख्ःल्याङमा बसेको थियो । त्यो वैठकमा बालकृष्ण सम, हिक्मत बहादुर मल्ल, समरबहादुर मल्ल, मुरारीकृष्ण शर्मा, सिद्धिचरण श्रेष्ठ, भवानी भिक्षु, श्यामदास वैश्णवआदि उपस्थिति थिए ।

अन्ततः २० चैत २००७ मा रेडियो नेपालको औपचारिक प्रसारण आरम्भ भयो । तारिणीप्रसाद कोइरालले भने – यो प्रजातन्त्र नेपाल रेडियोको आवाज हो । ४१ मिटर ब्याण्डमा हामी काठमाडौँबाट बोलिरहेका छौँ । उनले समाचार वाचन गरे । त्यसपछि हरिप्रसाद रिमालले गीत गाए –  मेरो दिल टुक्रा पारेर आँखाको बाटो हुँदै बहने छ । यस गीतकार रचनाकार शङ्कर लामिछाने थिए ।

समाचार सन्दर्भ:
तारिणीप्रसाद कोइरालाले पहिलो पटक नेपाली भाषामा समाचार सम्पादन तथा वाचन गरेपछि मधुसूदन देवकोटाले पढे अङ्ग्रेजी बुलेटिन । २००७ चैत २५ गते हिन्दी समाचार पढे राजेन्द्र गुप्ताले र १ वैशाख २००८ मा नेवारी समाचार पढे गजाधर माथेमाले  तर १ वैशाख २०२२ देखि हिन्दी र नेवारी भाषाका समाचार बन्द गरिए । २०१७ सालको राजनैतिक परिवर्तनपछिको प्रभावका रूपमा यसलाई टिप्पणी गर्ने गरिएको छ । १५ असार २०४७ देखि फेरि थपिए नेवारी र हिन्दी । यसरी थपिनुको कारण २०४६ सालको राजनैतिक परिवर्तन थियो । यसबाट प्रस्ट हुन्छ रेडियो प्रसारणको नीतिगत परिवर्तनमा राजनैतिक परिवर्तनको सीधा प्रभाव थियो र छ ।

समयक्रममा समाचार प्रसारण हुने भाषाको सङ्ख्या बढ्न थाल्यो । १७ पुस २०४९ देखि मैथिली भाषामा प्रसारण शुरु भयो । १ भदौ २०५१ बाट तामाङ, राई बान्तवा, लिम्बू, गुरुङ, मगर, भोजपुरी, अवधी, पुर्वेली थारु र पश्चिमा थारु थपिए । रेडियो नेपालले संस्कृत भाषालाई स्वागत गर्यो २० चैत २०५१ बाट र शेर्पा र ऊर्दूले ठाउँ पाए १ भदौ २०५३ देखि । खाम मगर र डोटेली समाचार २०५७ असार ९ गतेदेखि शुरु भयो र २०५८ वैशाख १ देखि रानाथारु भाषाको समाचार आरम्भ भयो । सबैभन्दा पछि २०७२ कार्तिक १६ गतेदेखि मगही भाषामा समाचार प्रारम्भ भएको हो ।

वर्तमानमा केन्द्र र विभिन्न प्रादेशिक प्रसारण केन्द्रबाट समेत गरी रेडियो नेपालबाट २१ भाषामा समाचार प्रसारण हुन्छ र समाचारकर्मीहरूकै सञ्चालनमा संस्कृतबाहेक सबै भाषाका कार्यक्रमहरू पनि निरन्तर प्रसारण हुँदै आएका छन् । समाचारबाहेक ती भाषाका कार्यक्रमहरूको प्रारम्भ भने २०६२÷६३ को परिवर्तनपछि मात्रै भएको हो । 

२०६४ वैशाख १ गतेदेखि बालसमाचार प्रसारण आरम्भ भयो । सोही वर्ष भदौ २९ देखि बाल समाचार बालबालिकाकै स्वरमा प्रसारण हुनथाल्यो । विभिन्न बाल प्रसारकहरूले आआफ्ना प्रतिभा देखाए तर २०७२ को महाभूकम्पसँगै प्रसारण रोकियो र पछि बाल समाचारलाई बालबाटिका कार्यक्रममै समावेश गर्दा उपयुक्त हुने ठानी कार्यक्रम सञ्चालकलाई नै जिम्मा लगाएर यो क्रम रोकियो ।

समाचार स्रोत:
स्वाभाविक हो; २००७ चैत्र २० को अवस्था आजको जस्तो थिएन । आजको जस्तो प्रविधियुक्त न्युजरुम थिएन, सम्वाददाताहरू थिएनन् र न्युज एजेन्सीहरू पनि थिएनन् । 

समाचारीय महत्व र त्यसको अन्तरवस्तुमाथिको विवेचनात्मक दृष्टिबोधको परिभाषा अलग होला तर तिनताकाका अन्तर्राष्ट्रिय रेडियो स्टेसनसँगको पहुँच पनि त्यति उल्लेख्य थिएन । थियो त केवल उत्साह थियो र प्रसारणलाई निरन्तरता दिनु थियो ।
सन् १९२० देखि नै युरोप र अमेरिकामा रेडियो प्रसारण प्रारम्भ भइसकेका थिए । कतिपय एशियाली मुलुकहरूमा पनि रेडियो खुलिसकेको थियो । रेडियोको संस्थापन पुस्तासँग राणाकालमै भोजपुर र विराटनगरबाट भएका अनौपचारिक प्रसारण वा प्रसारण प्रयासको अनुभव मात्र थियो ।

हातैले लेखेर समाचार वाचन गर्नुपर्दथ्यो । समाचारीय महत्वका हिसाबभन्दा पनि पदीय प्राथमिकतामा समाचारको क्रम निर्धारण हुन्थे । राम्रो अक्षर नभएको अवस्थामा र समाचारमा केरमेर भएको स्थितिमा समाचार वाचन गर्नु पनि सानो सानो युद्धै जितेजस्तो थियो ।

विदेशी रेडियो सुनेकै भरमा अनुवाद गर्नुको जटिलता आज अनुभव गर्न सकिन्छ । कतिपय अग्रजहरूका अनुसार कतिपय अवस्थामा त व्यक्तिलाई भेटेर र फोन माध्यम शुरू भएपछि फोनबाटै टिपेर समाचार तयार पार्नुपर्ने हुन्थ्यो । लेखन शैली र समाचार वाचनको तरिकालाई समेत विदेशी रेडियो सुनेर ‘शैली’ बनाउनुपर्ने अवस्था थियो । वनको ढुङ्गो वनकै चरी भनेजस्तो काम गर्दै, भोग्दै, सिक्दै जानुपर्ने र स्रोत साधनको अभावलाई उत्साहले जितेर जनरुचि पूरा गर्नुपर्दथ्यो । 

राष्ट्रिय समाचार समिति शुरु भएपछि पनि पातलो पेपरमा टाइप गरेर र कतिपय बेलामा धमिलो कार्वन पेपरमा आउने समाचार पढ्न बुझ्न थप जटिल हुन्थ्यो । अभावहरूमा भाव खोज्नुको जटिलतामा पनि मिठास भेटिन्थ्यो सायद । २०१० को कोलम्बो योजना शुरु भएपछि वैदेशिक तालिमको ढोका खुल्यो । २०११ मा ६ महिने तालिमका लागि प्रकाशमान सिंह र राजेन्द्रप्रसाद गुप्ता दिल्ली गएका थिए ।

अमेरिकी समाचार संस्था एपी, फ्रान्सेली समाचार समिति एएफपी, चिनियाँ समाचार समिति सिन्हवाआदिका समाचार भेट्न पनि रासस कुर्नुपर्ने स्थिति थियो । प्रारम्भिक दिनमा त पत्रिकाको नाममा एउटा गोरखापत्र मात्र थियो । त्यही गोरखापत्रले पनि रेडियो प्रसारण शुरु भएको समाचार छाप्थ्यो । कार्यक्रमहरूका बारेमा समाचार बनाउँथ्यो । न त आजजस्ता गोष्ठी, सेमिनार र उद्घाटनका समाचार हुन्थे न त जिल्ला जिल्लाका घटना, दुर्घटना र गतिविधिका समाचार आउँथे । सामाजिक गतिविधि नै पनि खासै हुन्नथे । 

रेडियो अष्ट्रलिया, बीबीसी, भ्वाइस अफ अमेरिका, भ्वाइस अफ जर्मनी, रेडियो नेदरल्याण्ड्सआदि अन्तर्राष्ट्रिय रेडियोहरूसँगको सम्पर्क धेरैपछि भएको हो । एशिया प्यासिफिक इन्ष्टिच्युट फर ब्रोडकाष्टिङ डिभलेपमेन्ट (एआइबिडी) सँगको सहकार्य पनि धेरैपछि हो । यी संस्थाहरूसँग जोडिएपछि भने प्रसारकहरूले त्यहाँ जाने, तालिम लिने र सिक्ने अवसर पाए । बिस्तारै समाचारको विषय, भाषा र नीतिमै सुधार हुन थाले । स्वदेशी तथा विदेशी भाषाविद्हरूसँग अन्तरक्रिया, गोष्ठी र सेमिनारहरू हुन थाले र समाचार माझिन, परिष्कृत हुन र जनरुचिमा केन्द्रित हुनथाल्यो । विकासको त्यो चरणमा जे जति काम भए त्यसका लागि अग्रजहरू धन्य छन् ।

परिवर्तनका केही चरणहरू:
त्यतिबेला रेडियो प्रसरण आफैँमा एउटा समाचार थियो । २००७ साल चैत्र १७ गते शुक्रबार गोरखापत्रको पहिलो पृष्ठमा यस्तो सूचना प्रसारण भएको थियो – 

समाचार प्रचार (बोडकाष्टिङ) ‘पर्सि चैत्र २० गतेका दिन काठमाडौंबाट समाचार प्रचार (बोडकाष्टिङ) शुरु हुने भएको छ । त्यसको विवरण आगामी संख्याको गो.प.मा प्रकाशन गरिने छ । — नेपाल प्रचार विभाग’ 

चैत २० गतेको गोरखापत्रमा रेडियो प्रसारण सम्बन्धी सम्पादकीय छापिएको थियो भने चैत्र २२ गतेको गोर्खापत्रमा यस्तो समाचार थियो — 

‘ध्वनि विस्तार । काठमाडौं चैत २१ गते । प्रजातन्त्र नेपाल रेडियोबाट बिहान ८ ।। बजेदेखि ९ ।। सम्म र साँझमा ६ ।। बजेदेखि ७ ।। सम्म ४१ मिटरबाट खबर प्रसारित भइरहेको छ । आज नेपालका कवि संगीतकारहरुले आ—आफ्ना रचना आदि प्रसार गरिराखेको खबर छ ।’ 

२००७ पछिको अवस्थामा बिस्तारै सुधार आयो । २०१५ सालको आमनिर्वाचन र त्यसपछिको प्रजातान्त्रिक सरकारको चासो यस तर्फ बढेको पाइन्छ । त्यसो त रेडियोप्रतिको नेताहरूको रुचि स्थापनाकालदेखि नै थियो । २००७ को परिवर्तनपछि गृहमन्त्री भएका वीपी कोइरालाले सो पदबाट राजीनामा गर्दा रेडियो नेपालमा आएर आफ्नो राजीनामा आफैँले वाचन गरेको कुरा वीपी आफैँले कतिपय ठाउँमा उल्लेख गरेका छन् । यसबाट स्थापनाकालदेखि नै नेतृत्व तहको आकर्षण रेडियोप्रति विशेष थियो भन्ने बुझिन्छ ।

२०१७ को परिवर्तनपछि राजनैतिक चासोमा सत्ताको पनि चासो बढेको कुरा कतिपय पुराना प्रसारकहरूले बताएका छन् । २०१७ सालमा पञ्चायती व्यवस्था शुरु भएपछि समाचारको ढाँचा शैलीमा एक्कासी परिवर्तन आयो ।  २०२२ सालमा हिन्दी र नेवारी भाषाको समाचार बन्द हुनुले पनि यस परिवर्तनकोे संकेत गर्दछ ।

२०२८ सालमा ‘विकासका लागि सञ्चार’ भन्ने नाराका साथ सरकारले सञ्चार योजना ल्याएको थियो । रेडियो नेपालमा पनि त्यसको प्रभाव पर्‍यो नै । समाचारको समय थप गरियो । स्थानीय गतिविधि थप गरी जिल्ला समाचारलाई दैनिक दश दश मिनेटको दुई बुलेटिन बनाइयो । यसअघि ५ मिनेटको दैनिक एक बुलेटिनमात्र प्रसारण हुन्थ्यो । सामयिक चर्चाजस्ता कार्यक्रम थपिए । त्यतिखेर कुल प्रसारण समय नै दैनिक ८ घन्टाबाट बढाएर १२ घन्टा बनाइएको थियो । 

२०४१ सालमा रेडियो प्रसार सेवा विकास समिति बन्नुअघि रेडियो नेपाल तात्कालीन प्रसार विभाग थियो । यो संरचनागत परिवर्तनपछि समाचारमा मात्र होइन, रेडियो नेपालको मूल प्रसारणमै पनि आमूल परिवर्तन आयो । सोही वर्ष रेडियो नेपाल सुधार तथा सुदृढीकरण योजना २०४१ घोषणा गरियो । विज्ञापन प्रसारणलाई मात्रै विकास समिति अन्तर्गत राख्ने कि समग्र रेडियो नेपाललाई भन्ने बहस निकै चल्यो ।

अन्ततः रेडियो नेपाल नै विकास समितिमा परिवर्तन भयो । रेडियो नेपालले आफैँ कमाएर खानुपर्छ भन्ने वाक्यांशको प्रयोग त्यही बेलादेखि भएको हो । विज्ञापन प्रसारणले थप गति लियो, प्रायोजित कार्यक्रमहरू प्रसारण प्रारभ्भ भए र ‘रेडियोको टोन’ केही हदसम्म फरक सुनियो ।………………

समाचारमूलक कार्यक्रम शृङ्खला :
रेडियो नेपालमा देखिने परिवर्तन २०४६ पछि प्रारम्भ भएको हो । २०४७ मा छुट्टै रिपोर्टिङ युनिट शुरु भयो । रेडियो नेपालमा विभिन्न शाखामा कार्यरत कर्मचारीहरूलाई भेला पारेर रिपोर्टिङ युनिट बनाइयो । कृष्ण केसीले त्यसको अगुवाइ गरेका थिए । त्यसबेला उनको सक्रियातको चर्चा अहिले पनि सुनिन्छ । त्यसपछि आफ्नै सम्वाददाताले समाचार लेख्न थाले । २०४७ भदौदेखि ‘यो हप्ता’ नामको विश्लेषणात्मक कार्यक्रम शुरु भयो र यसैको विकसित रूप घटना र विचार हो, जुन कार्यक्रम विभिन्न उतारचढाब खेप्दै आजसम्म जीवित छ । केही हप्ता चलेको ‘यो हप्ता’पछि २०४७ आसोज २ देखि  ‘घटना र विचार’ शुरु भएको हो । यसका संस्थापक सञ्चालक पुरुषोत्तम दाहाल हुन् । त्यसपछि जिल्ला जिल्लामा सम्वाददाता राख्न थालियो र रिपोर्टिङका लागि छुट्टै स्टुडियो समेत खडा गरियो । 

आज त्यही रिपोर्टि युनिट समाचार महाशाखा अन्तर्गतको सशक्त रिपोर्टिङ शाखा भएको छ । रिपोर्टिङका साथै राष्ट्रिय महत्वका पर्व, दिवस, घटना र अन्य उल्लेख्य सन्दर्भमा लाइभ अन्तर्वार्ता, बहस र विश्लेषणात्मक कार्यक्रमहरूले निरन्तरता पाएका छन् । कतिपयको भनाइमा २०४६ पछिको घटना र विचार र २०६२/६३ को परिवर्तनपछि शुरु भएको जनतासँग प्रधानमन्त्री दुई महत्वपूर्ण राजनैतिक परिवर्तनपछिका ‘बोल्डस्तर’का दुई प्रसारण हुन् । 

‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रम सञ्चालनको दिन २०६५ असोज १५ एक ऐतिहासिक दिन हो ।  तात्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराई आफैँ पनि निकै प्रसन्न देखिन्थे । रेडियो नेपालको मुखपत्र झङ्कामा उनले लेखेका छन् – ‘रेडियो नेपाल सरकारी सञ्चारी माध्यम भएकोले राजनैतिक नेतृत्वसँग अलि डराउने र जे भन्यो जीहजुरी गर्ने चलन छ भन्ने सुनेको थिएँ तर कार्यक्रम सञ्चालकले जुन किसिमले मेरो बारे, सरकारका बारे र मेरै पार्टीका बारेमा निर्भीक रूपमा प्रश्न राख्नुभयो र प्रस्ट गर्ने मौका जुराउनुभयो, त्यो पत्रकारमा हुनुपर्ने साहस थियो …. यसले सञ्चालक र रेडियो नेपालको मात्र होइन, सरकारी सञ्चार माध्यमकै इज्जत बढेको पाएँ ।’  

समयक्रममा अरू पनि कति कार्यक्रम थपिए, कति बन्द भए । परिक्रमा, चिन्तनको चौतारी, सांसद फोनइन, मन्त्री फोनइन, जनतासँग सभासद, परिवेश, मार्गचित्रजस्ता कार्यक्रम बन्द भए तर प्रत्येक बिहान ६.३० मा प्रसारण हुने अन्तरसंवाद रेडियो नेपालको एउटा महत्वपूर्ण ‘टक शो’ हो । २०५४ देखि शुरु भएको अखबार कार्यक्रम अर्को महत्वपूर्ण कार्यक्रम हो । यो बिहान ६.०५ बजे अखबार र ६.३० मा अन्तरसंवाद आज पनि दैनिक छ, निरन्तर छ । ‘सम्पादकीय समीक्षा’ भनेर अखबारमूलक कार्यक्रमको शुरुवात २०१६ सालमै पनि भएको थियो तर त्यसले ३ महिनाभन्दा बढी निरन्तरता पाएन ।

क्षेत्रीय प्रसारण र एफएम अवधारणा :
तात्कालीन विकास क्षेत्रको अवधारणा अनुरूप २०५० सालमा क्षेत्रीय प्रसारण र २०५२ मा एफ.एम. प्रविधिको सुरुवात भयो । १०० मेगाहर्जमा रेडियो नेपाल एफ.एम. काठमाडौँकै जग टेकेर देशभरि एफ.एम. फैलिएका हुन् । २०५७ मा ल्भधक द्ययकक प्रणाली प्रारम्भ गर्ने निकै कोशिश भयो तर धेरै लगानी भएर पनि विविध कारणले सम्भव भएन । २०५९ फागुन ७ गतेदेखि अनलाइन प्रसारण र २०७३ भदौ १ गतेदेखि चौबीसै घण्टा प्रसारण हुँदै २०७४ भदौ ७ गतेदेखि रेडियो नेपाल प्रदेश प्रसारणको अभ्यासमा छ । चौबीसै घन्टा प्रसारण अन्तर्गत रात्रीकालीन सेवामा पनि घन्टाघन्टाको समाचार शुरु भयो । कोभिड १९ को प्रकोपपछि रात्रीकालीन समाचार बन्द गरिए । 

प्रादेशिक प्रसारण शुरु भए यता बेलुकी सेवामा प्रदेश समाचारले समेत निरन्तरता पाएको छ । अङ्ग्रजी र नेपालीबाहेक प्रत्येक भाषाका समाचार एकएक बुलेटिन प्रसारण हुन्छन् भने अङ्ग्रेजी भाषामा प्रत्येक दिन बिहान ८, दिउँसो २ र साँझ ८ बजे गरी ३ बुलेटिन प्रसारण हुन्छन् । नेपाली भाषामा बिहान ६ बजेदेखि ७, ९, १०, ११, १२, १, ३, ४, ५, ७, ९ र राती ११ बजेसम्म गरी १३ बुलेटिन छन् । यस बाहेक प्रदेश समाचार प्रत्येक साँझ ६.१० मा एक बुलेटिन प्रसारण हुन्छ ।……………………..

२१ भाषामा समाचार प्रसारण र २० भाषामा कार्यक्रम यो आफैँमा गौरवको कुरा हो तर भाषा केवल भाषा मात्र होइन, यससँग भूगोल, इतिहास, जाति, संस्कृति र पहिचानका अनेकौँ पाटाहरू छन् । भाषिक बहुलता र परिचयको यस शृङ्खलामा रेडियो नेपालले आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको छ । भाषाको प्रयोग केवल समाचारमा मात्र होइन, भाषाका प्रसारकहरू सम्बन्धित भाषामा कार्यक्रम पनि सञ्चालन गर्छन् ।सातै प्रदेश अन्तर्गत सुदूर पश्चिम प्रदेश अन्तर्गत दिपायलबाट राना थारु र डोटेली भाषामा समाचार र कार्यक्रम प्रसारण हुन्छ । यसै गरी कर्णाली प्रदेशको सुर्खेटबाट नेपाली भाषामा, लुम्बिनी प्रदेशको दाङबाट अवधि, पश्चिमा थारु र खाम मगर भाषामा र गण्डकी प्रदेशको पोखराबाट मगर र गुरुङ भाषामा समाचार तथा कार्यक्रमहरू प्रसारण हुन्छन् । यसै गरी वागमती प्रदेशबाट ऊर्दू, शेर्पा र तामाङ भाषा तथा मधेश प्रदेश बर्दिबासबाट मगही, भोजपुरी र मैथिली भाषामा समाचार र कार्यक्रमहरू प्रसारण हुने गरेको छ । यही मैथिली समाचार एकै समयमा केन्द्रीय प्रसारणबाट पनि प्रसारण हुन्छ । 

यसका साथै केन्द्रबाट नेपाली, अङ्ग्रेजी, संस्कृत, नेपाल भाषा (नेवारी) र हिन्दीमा प्रसारण हुने गरेको छ । प्रदेश १ बाट राई वान्तवा, लिम्बू र पूर्वीय थारु भाषामा प्रसारण हुन्छ । सम्बन्धित प्रादेशिक प्रसारण केन्द्रबाट नेपाली भाषामा पनि समाचार र समाचारमूलक कार्यक्रमहरू प्रसारण हुँदै आएका छन् । यसरी समाचारले कुनै नकुनै रूपमा सम्पूर्ण देशलाई छोएको छ । त्यसैले रेडियो नेपाल भन्छ – आवाजले छुने सम्पूर्ण नेपाल रेडियो नेपाल, नेपाली माटोको आवाज रेडियो नेपाल । 

इतिहासतिर फर्कँदा :
मोहन शमशेर राणा श्री ३ महाराज भएपछि भोजपुरमा आकाशवाणी स्थापना गरेका थिए । त्यहाँ केही उपकरण थिए । विश्वयुद्धका बेला प्रसारण उपकरण सम्बन्धी तालिम लिएका नारदमुनिले सहकर्मी श्रीपाल राईसँग केही सल्लाह गरे । त्यतिखेर नेपाली काँग्रसले राणा विरुद्ध संघर्ष गरिरहेको थियो । प्रथम र द्वितीय विश्वयुद्ध लडेर आएका कतिपय लडाकु मुक्ति सेनामा संलग्न थिए र भोजपुरकै एउटा विद्यालयमा जयेन्द्र थपलिया शिक्षक थिए । एक दिन शनिवारे हाट लागिरहेको बेला रामप्रसाद राईसहित यो समूहले नक्कली धामी र नक्कली विरामी भएर धामी नाच प्रदर्शन गर्दै गर्दा सिपाहीहरू मन्त्रमुग्ध भएर हेरिरहेका थिए । त्यही मौका पारेर सिपाहीका सबै हतियार खोसे । यसरी खोसिएको हतियार साथमा राखेर  आकाशवाणीको उपकरण प्रयोग गरी रेडियो सञ्चालन गरे । 

एकदिनको समाचारमा मुक्तिसेनाले धनकुटामा आक्रमण गर्ने समय र स्थानको सूचना समेत प्रसारण गरिदिनाले धनकुटामा रहेका राणा पक्षका सिपाहीबाट पाख्रीवासमा रहेका सात जना भोजपुरेलाई मारिदिए ।  यसबाट समाचार प्रसारणमा हुनुपर्ने सेन्सर र सूचनाको गोपनीयताबारे पनि थाहा भयो । उनीहरू थप सचेत हुन थाले । समाचारीय चेतनाका लागि यो महत्वपूर्ण घटना हो ।

यो प्रसारण उत्साहका साथ माघसम्म चल्यो । विद्रोह आफ्नै गतिमा थियो र विद्रोहीहरूसँगको सम्पर्क निरन्तर थियो नै । तात्कालीन आवश्यकता र औचित्य हेरी अब प्रसारण विराटनगर झर्ने भयो । सबै कुरालाई विशेष निगरानी गरिरहेका तारिणीप्रसाद कोइराला नेतृत्वको समूहले विराटनगरको एउटा जुटमिलबाट प्रसारण प्रारम्भ गर्ने व्यवस्था मिलाए । 

काठमाडौँलाई रेडियोको श्रुतिस्वाद काठमाडौँले पनि धेरथोर रेडियोको स्वाद पहिले नै पाइसकेको थियो । नेपालमा वि.सं. १९८० तिरदेखि नै रेडियो सेट भित्रिन थालेका थिए । नेपाली सैनिकहरू विश्व युद्धहरूमा समेल भएका थिए । त्यसरी युद्धमा सामेल भएर विदेशी भूमिमा पुगेका नेपालीहरूले घर फर्कँदा रेडियो ल्याउने गरेका थिए तर त्यसरी ल्याइएका रेडियो र ती रेडियोहरूमा बज्ने सूचना समाचारबाट नेपालीहरू विज्ञ होलान् र राणा विरुद्ध आन्दोलन गर्लान् भनेर राणाहरूले रेडियो सेट जफत गरेका थिए । बाहिरी संसारबाट नेपालीहरूलाई विमुख गराउने अभिप्रायले यसो गरिएको भए पनि श्री ३ पद्य शमशेर राणा प्रधानमन्त्री भएपछि २००३ सालमा यसलाई खुकुलो पारियो । जनताले रेडियो सेट राख्न पाए र काठमाडौँको रत्नपार्क नजिकै रहेको विजुली अड्डाबाट केही समय अनौपचारिक रूपमा प्रसारण समेत प्रारम्भ भएको थियो ।

अबका दिन:
आजको नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल हो । सार्वभौम जनताका प्रतिनिधिले बनाई जारी गरेको संविधानले समावेशीकरण र समानुपातिक प्रतिनिधित्वलाई स्थापित गरेको छ । मुलुकको यो वास्तविकता र तथ्य समेतको प्रवद्र्धन हुने गरी रेडियो नेपालको समाचार प्रसारण केन्द्रित छ । रेडियो नेपाल प्रसारणका हिसाबले राष्ट्रिय रेडियो मात्र होइन, दायित्व र जिम्मेवारीबोधका हिसाबले पनि राष्ट्रिय धरोहर हो । आवेग र उत्तेजना होइन, उत्सुकता, जनआवश्यकता, तथ्यपूर्ण सामग्री र राष्ट्रिय दायित्वबोध हाम्रा प्रसारणका खास महत्व र मूल्य हुन् । सूचना, सन्देश, सकारात्मकता र सन्तुलन रेडियो नेपालका मूल मन्त्र हुन् । 

न्युज रुमलाई व्यावसायिक र सशक्त बनाई अझ बढी प्रभावकारी प्रसारण बनाउन र केन्द्र र जिल्ला जिल्लामा रहेका सम्वाददातालाई अझ व्यावसयिक र राष्ट्रिय दायित्वबोध सहितको जिम्मेवारी पूरा गर्ने गरी समक्ष बनाउन बेलाबेला विभिन्न तालिम, गोष्ठी र अन्तरक्रियाहरू हुने गरेका छन् । यो अझै सत्य हो कि तिनलाई उपयुक्त वातावरण, उपकरण र सुविधा उपलब्ध गराउन बाँकी नै छ । कतिलाई सीप सिकाउनु छ र कतिसँग भएको उच्च सीपको पूर्ण सदुपयोग गर्न अझै बाँकी छ ।

रेडियो नेपालका प्रसारक कार होइनन् जो बनिबनाउ बाटोमा मात्रै सप्रेम कुदोस्, यी त डोजर हुन् जो आफ्नो बाटो आफैँ बनाउँदै कुद्दै थिए, छन् र कुदिरहनेछन् तर आफैँभित्रको पूर्ण जोश र होशलाई सम्हालेर ।

(डा.लम्साल रेडियो नेपालका समाचार महाशाखाका निर्देशक हुनुहुन्छ ।)

पाद टिप्पणी:
आवश्यक सम्वाद गरिएका व्यक्तिहरू:
१. पूर्व नाकानि सुशील कोइराला : रेडियो नेपाल
२. रानुदेवी अधिकारी: रेडियो नेपालकी प्रथम गायिका, विराटनगर (हालः स्वर्गीय)
३. श्यामदास वैश्णव: रेडियो स्थापनाकालका प्रसारक, काठमाडौँ ।
४. ध्रुव थापा: पूर्व उपनिर्देशक, रेडियो नेपाल
५. कृष्ण के.सी: पूर्व उपनिर्देशक, रेडियो नेपाल
६. पुरुषोत्तम दाहाल: संस्थापक सञ्चालक, घटना र विचार
७. प्रदीप नेपाल: पूर्वमन्त्री, साहित्यकार

सन्दर्भ ग्रन्थसूची:
१. रेडियो प्रसार सेवा विकास समिति गठन आदेश २०४१
२. विकास समिति ऐन २०१३ 
३. रेडियो नेपालको प्रसारण निर्देशिका र कार्यक्रम तथा समाचार मापदण्ड २०७० । काठमाडौँ: रेडियो नेपाल र जाइका÷ मिडिया फर पिस प्रोजेक्ट
४. पाण्डव सुनुवार, (२०५८), रेडियो प्रसारणको आरोह अवरोह, : काठमाडौँ, 
५. रेडियो नेपालको व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना, २०७३
६. नेपाल, सूचना तथा सञ्चार मन्त्रालय , वर्ष ४०, अङ्क ३, पूर्णाङ्क १७७, २०६६ 
७  रेडियो प्रदीपिका , नेराकसं रेडियो नेपाल , वर्ष २ , अङ्क २ , २०६७
 ८. रेडियो नेपाल: एक सम्झना , हरि श्रेष्ठ । काडमाडौँ, २०५६ 
९ . झङ्कार, रेडियो नेपालको मुखपत्र , विभिन्न अङ्कहरू 
१०. तरङ्ग, वर्ष १, अङ्क १, रेडियो नेपाल कर्मचारी युनियन, २०७०
११. रेडियो नेपालको सामाजिक इतिहास, मार्टिन चौतारी: काठमाडौँ २०६४

प्रतिक्रिया राख्नुहोस्

Back to top button