‘नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन सकेको छैन’
जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नीति निर्माण तहमा अझै महिलाको प्रतिनिधित्व हुन नसकेको बताउनुभएको छ ।

जनकपुरधाममा आयोजित “जलवायु परिवर्तनको असर र महिलाको भूमिका” विषयक अन्तरक्रियामा मुख्यमन्त्री राउतले आर्थिक, राजनीतिक तथा शैक्षिक क्षेत्रमा महिलाको प्रतिनिधित्व नभएसम्म समस्याको समाधान कठिन हुने बताउनुभयो ।
मुख्यमन्त्री राउतले बालुवा, गिट्टी निकासीमा सरकारले रोक लगाए पनि मधेस प्रदेशमा बेरोकटोक निकासी भएको बताउँदै रोक्ने निकाय मौन भएको बताउनुभयो ।
उहाँले सरकारले नीति निर्माण गर्ने तर नीतिको कार्यान्वयन गर्ने निकाय मौन रहेकाले चुरे दोहनमा प्रयोग गरिएको एक्स्काभेटर, टिपर नियन्त्रणमा नलिएको कारणले वातावरणमा गम्भीर असर पारेको बताउनुभयो ।
यस कारणले नै जलवायु परिवर्तनको प्रभाव देखिनु स्वाभाविक रहेको मुख्यमन्त्री राउतले बताउनुभयो । चुरे दोहन, वन फडानी, बालुवा गिट्टी उत्खनन कार्य तत्काल रोक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रदेशसभा सदस्य मञ्जु यादवले वैदेशिक रोजगारीले समाजमा महिला हिंसा बढेको जिकिर गर्दै महिलाबाटै महिला पीडित हुने गरेको दाबी गर्नुभयो ।
सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले चुनौतीपूर्ण भूमिकामा महिलालाई अगाडि ल्याउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्