तपाईँ सुन्दै हुनुहुन्छः

जनतालाई सुशासनको अनुभूति गराइन्छ: मन्त्री आले

विराटनगर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले जनतालाई सुशासनको अनुभूति गराउने बताउनुभएको छ ।

मोरङ व्यापार सङ्घद्वारा स्वदेशी उत्पादन प्रवर्द्धन गर्न आजदेखि विराटनगर–२ मा सञ्चालित ‘मोरङ व्यापार सङ्घ ट्रेड एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री आलेले मुलुकमा आर्थिक अनियमितता रोक्न सरकारले सक्दो पहल गरिरहेको बताउनुभयो ।

उहाँले आगामी बुद्ध जयन्तीका दिनदेखि भैरहवा तथा पाँच महिनाभित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइने उल्लेख गर्नुभयो । मन्त्री आलेले गठबन्धन दलहरू आगामी निर्वाचनमा संयुक्त रुपमा जाने बताउनुभयो ।

सङ्घीय सांसद एवं पूर्व मन्त्री मीनेन्द्र रिजालले विकासमा नगर पछाडि परेकामा चिन्ता व्यक्त गर्दै मुलुकको दोस्रो ठूलो सहर बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं १ स्वास्थ्य मन्त्री जयराम यादवले जात र धर्म नभनी मुलुकको विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरमा पाँच वर्षको अवधिमा १५० किलोमिटर सडक कालोपत्रे गरिएको जानकारी दिनुभयो ।

सङ्घका अध्यक्ष नवीन रिजाल, एक्स्पो संयोजक विकासकुमार बेगवानी, उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेल र नेपाल उद्योग परिसङ्घका प्रदेश अध्यक्ष भीम घिमिरेले प्रदर्शनी स्थल निर्माणका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

यही चैत २६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा कृषि उत्पादन, घरेलु, साना, मझौला तथा ठूला उद्योगद्वारा उत्पादित वस्तुका अतिरिक्त मुलुकको महत्त्व झल्किने कला, संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, खनिज जन्य, कृषिजन्य तथा औद्योगिक उत्पादन, अटो मोबाइलको प्रदर्शनी एवं बिक्री कक्ष राखिएको छ ।

एक्स्पोमा झन्डै ३०० कक्ष रहेका छन् । एक्स्पो अवधिभर रु ५० करोडको आर्थिक कारोबार गर्ने लक्ष्य राखिएको सङ्घका अध्यक्ष रिजालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button