मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धिसँगै निर्यात प्रवर्द्धनमा जोड

जुम्ला । मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धि र निर्यात प्रवर्द्धनको विकल्प छैन । तर सरकारी नीतिकै बाधा अड्चनले नेपालको निर्यात प्रवर्द्धन निकै कमजोर देखिन्छ । विश्व व्यापार सङ्गठन (डब्लुटिओ)को सदस्यता लिएको झण्डै १८ वर्ष पुरा भइसक्दा पनि नेपालको अन्ताराष्ट्रिय व्यापारमा अपेक्षित उपलब्धि हुन सकेको छैन ।
उत्पादन र उत्पादकत्व वृद्धि नहुनु, निर्यात प्रवर्द्धनको ठोस नीति नबन्नु, उद्यमशीलताको विकास नहुनु, युवा पलायन बढ्नु, सहुलियत कर्जा नपाउनु, आन्तरिक बाह्य लगानी नजुट्नु लगायतका कारणले नेपालमा आयात प्रतिस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
मुलुकको आर्थिक समृद्धिका लागि निर्यात प्रवर्द्धन, माग अनुसारको उत्पादन वृद्धिका लागि तीनै तहका सरकारको ठोस नीति बनाउनु पर्नेमा जुम्लाका उद्योगी व्यवसायीले जोड दिएका छन् ।

जुम्लामा सोमबार आयोजित विश्व व्यापारको स्थानीयकरण तथा निर्यात प्रवर्द्धन सम्बन्धी अन्तरक्रियामा सहभागी जुम्लाका अगुवा किसान, उद्योगी, व्यवसायीले निर्यात बढाउने लक्ष्य राख्नु पहिले उत्पादन बढाउन तर्फ सरकारको ध्यान केन्द्रित हुनुपर्ने बताएका थिए ।
जुम्लाको स्याउ, सिमी, ओखर, मार्सी चामल लगायतका बालीको विश्व बजारमा माग भएपनि उत्पादन वृद्धि तथा निर्यातको सहज वातावरण नहुँदा सम्भावना भएर पनि जुम्लाको आर्थिक समृद्धि हुन नसकेको अगुवा किसान रामकृष्ण बुढ्थापाले बताउनुभयो ।
कृषि मैत्री नीति र लगानीको अभावले कर्णालीको ८२ हजार हेक्टर जमिन बाँझो छ । उहाँले भन्नुभयो, “सङ्घीयतापछि पनि व्यापार व्यवसाय, उद्यमशीलता गर्ने अनुकूल वातावरण छैन । सहुलियत ऋण देखि अनुदानमा बिचौलियाकै हालीमुहाली छ । उर्वर भूमि भएर पनि उत्पादन वृद्धि हुन सकेको छैन । उत्पादित बस्तुको बजारीकरण र निर्यात प्रवर्द्धनमा उत्तिकै समस्या छ । मुलुकको आर्थिक समृद्धिका लागि उत्पादन वृद्धिमा लगानी र निर्यात प्रवर्द्धनमैत्री नीति निर्माणमा जोड दिनुपर्छ ।”

क्षेत्रिय होटल संघका अध्यक्ष दिल बहादुर महतले विश्व बजारमा नेपाली उत्पादन निर्यात गर्न नसक्नु सरकारकै कमजोरी रहेको बताउनुभयो । माग बढ्दै गएपनि उत्पादन घट्दै गएको जुम्ली स्याउ, सिमी, ओखर मार्सी चामलको उत्पादन वृद्धिमा सरकारको लगानी आवश्यक रहेको उहाँको भनाई छ ।
कृषि, उद्यमशीलता, व्यापार व्यवसायमा सरकारी लगानी न्यून र उत्पादन भएको बस्तुको निर्यात प्रक्रिया सहज नहुँदा मुलुकको व्यापार घाटा बढ्दै गएको उद्योग वाणिज्य सङ्घ जुम्लाका अध्यक्षको भनाई छ ।
उत्पादनमुखी नीति र बजेट आवश्यक
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव गोविन्द कार्कीले निर्यात प्रवर्द्धनका लागि तीनै तहका सरकारले उत्पादनमुखी नीति र बजेट निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । डब्लुटिओको सदस्य भएको १८ वर्ष सम्म पनि नेपालको निर्यात तथा अन्ताराष्ट्रिय बजारीकरण सन्तोषजनक नभएकोले उत्पादन वृद्धिमा जोड दिनुपर्ने उहाँको भनाई छ ।
जुम्लामा उत्पादन हुने स्याउ, सिमी, ओखर र मार्सी चामलको उत्पादकत्व बढाउन लगानी पनि बढाउनु आवश्यक रहेकोले बजेटमा कृषि, उद्योग, व्यापार व्यवसायलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली उत्पादनले अहिले नै अन्ताराष्ट्रिय बजारको माग धान्ने स्थिति छैन । उत्पादन वृद्धिमा साँच्चै सरकारी लगानी न्यून छ । भने, निर्यातको झन्झटिलो नीति संशोधनको बहस भइरहेको छ । जुम्लाका उद्योगी व्यवसायीका सुझाव कार्यान्वयनमा पहल गर्छु ।”
अन्ताराष्ट्रिय निर्यात मात्र नभई अन्तर प्रदेश र अन्तर जिल्लाको निर्यात प्रवर्द्धनको नीति निर्माणमा पनि जोड दिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख लाल बहादुर सार्कीको भनाई छ । कर्णालीको जडीबुटी प्रशोधन तथा स्याउ, सिमी, ओखर मार्सीको उत्पादन बढाई निर्यातमा जोड दिन कर्णाली सरकारले विशेष लगानी गर्नुपर्नेमा उल्लेख गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले उद्योगी व्यवसायीका समस्यालाई समाधान गर्न सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । उत्पादन र बजारीकरणको समस्या समाधानमा निजी क्षेत्र तथा सरकार बीच समन्वय हुन जरुरी रहेको उहाँको भनाई छ । कृषि विकास कार्यालयका प्रमुख गणेश रोकाया, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोले अनुदानमुखी किसान र उद्योगीलाई निरुत्साहित नगरी उत्पादन वृद्धि नहुने भएकोले अनुगमन निरीक्षण तथा नियमनमा कडाइ गर्न सुझाव दिएका छन् ।








प्रतिक्रिया राख्नुहोस्