सबै नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढङ्गले पाउनुपर्छ : मन्त्री चौधरी

भक्तपुर । खानेपानी मन्त्री उमाकान्त चौधरीले सबै नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढङ्गले पाउनुपर्ने बताउनुभएको छ ।
भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको ‘वाटर एटिएम’को आइतबार उद्घाटन गर्नुहुँदै मन्त्री चौधरीले जलश्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्नका लागि सरकारले कार्य योजना बनाएर अघि बढिरहेको बताउनुभयो ।
उहाँले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बिरामी र बिरामीका कुरुवालाई वाटर एटिएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुँदै अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिडभाड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटिएम जडानको अभियानलाई अघि बढाइने बताउनुभयो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटिएमबाट उपभोक्ताले परीक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित दुई सय मिलिलिटर पाउँछन् ।
बोर्डका वरिष्ठ प्रशासकीय अधिकृत उदय केसीले उपभोक्ताको लागि २४ सैँ घण्टा शुद्ध खानेपानी वितरणको व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले पाँच रुपैयाँमा बजारमा बिक्री वितरण भइरहेको मिनरल वाटर जत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने बताउनुभयो ।

वाटर एटिएम उद्घाटन समारोहमा मन्त्री चौधरीले अन्य अस्पताल र तराईका जिल्लाहरूमा समेत यस्तो प्रविधि जडान गर्न बोर्डलाई आग्रह गर्नुभयो । उहाँले सो अवसरमा वाटर एटिएमबाट पानी थापेर पिउनु भएको थियो ।
बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले बोर्डले स्थापना गरेको वाटर एटिएमबाट उपभोक्ताले शुद्ध खानेपानी चौबिसैं घण्टा वितरण गरिरहेको भन्नुहुँदै आगामी दिनमा सर्वसाधारणको भिँडभाँड हुने सार्वजनिक स्थलमा यसको सेवा विस्तार गर्दै लैजाने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्