नम्डोललिङ नमुना एकीकृत बस्ती समुदायलाई हस्तान्तरण

सिन्धुपाल्चोक । मेलम्ची १२ गिरान्चौरमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, चौधरी फाउण्डेशन, मेलम्ची नगरपालिका र बस्ती निमार्ण समितिद्वारा निर्मित नम्डोललिङ नमुना एकीकृत बस्ती आज समुदायलाई हस्तान्तरण गरिएको छ ।
फाउण्डेशनका अध्यक्ष विनोद चौधरी, जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ लगायतले आज सो बस्ती समुदायलाई हस्तान्तरण गर्नुभयो ।
कार्यक्रममा चौधरीले बस्तीसँगै अब आयआर्जनमा जोड्नका लागि समुदायले चासो राख्नपर्ने बताउनुभयो ।
उहाँले डिजिटल शिक्षा, स्वास्थ्य, स्वच्छ खानेपानी पुर्याउनका लागि फाउण्डेशनले सहयोग गरेको स्मरण गर्नुहुँदै आगामी दिनमा पनि आवश्यक सहयोगका लागि तयार रहेको बताउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख तामाङले भूकम्पले ध्वस्त बनाएको बस्ती पुनर्निर्माण सहयोग गर्ने संस्थालाई धन्यवाद दिनुहुँदै सधैँ सम्झिरहने बताउनुभयो ।
उहाँले आगामी दिनमा आवश्यकता अनुसारको थप सहयोगको अपेक्षा समेत गर्नुभयो । बस्तीको संरक्षण गर्ने र स्थानीय संस्कृति झल्कने क्रियाकलापमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

विकास निमार्ण हिसाबले निकै सहज हुने भएकाले एकिकृत बस्ती विकासको अवधारणा ल्याइएको जिल्ला समन्वय समितिका प्रमुख तामाङले बताउनुभयो । विकासको मोडल तयार पार्न र विकासका योजनाहरू बनाउँदा एकिकृत बस्तीमा सजिलो हुने उहाँको भनाई छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ३ लाख, चौधरी फाउण्डेशनको ८ लाख र स्थानीयको समेत गरी प्रति घर रु १३ लाख लगानीमा निमार्ण सम्पन्न ४ कोठे पक्की ६२ वटा घरमा शौचालय, खानेपानी, विद्युत् लगायतको सुविधा रहेको इन्जिनियर शरद दुलालले जानकारी दिनुभयो ।
शैक्षिकसँगै आर्थिक क्षेत्रलाई जोड्ने र आयआर्जनका लागि स्थानीयलाई सहज होस भन्नका लागि फाउण्डेसनको सहयोगमा गाउँमै रहेको इट्टा उद्योग लाई व्यवस्थित र थप विस्तार गर्दै लैजाने योजना रहेको बस्ती निमार्ण समितिका अध्यक्ष कर्मा सिंह लामाले बताउनुभयो ।
पानीको समस्यामा रहेका स्थानीय लिफ्टबाट घर घरमा पानी आउन थालेपछि अहिले खुसी छन् । भूकम्पले ध्वस्त बनाएका घर पुनर्निर्माण गर्दै एकिकृत रुपमा नयाँ पक्की घर पाएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् ।

भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको जिल्ला सिन्धुपाल्चोकका अधिकांश घर ध्वस्त भएका थिए । भूकम्पले ढलाएका घर पुनर्निर्माण चरणमा एकिकृत बस्तीको अवधारणा आए पनि सबैतिर त्यो लागु हुन सकेन । अहिले जिल्लाको २२ ठाउँमा एकिकृत बस्ती बनेका छन् भने मेलम्ची–१२ मा मात्रै ४ वटा एकिकृत बस्ती बनेका छन् । एकिकृत बस्तीले पर्यटकलाई आकर्षित गर्ने स्थानीयको बुझाई छ । स्थानीय कला, संस्कृति झल्कने भेसभुसा, रहनसहनले गर्दा आन्तरिक तथा बाह्य पर्यटकहरू गाउँमा भित्रिने उनीहरूको भनाई छ ।
पर्यटकका लागि होमस्टे विकास गर्दै आगामी दिनमा स्थानीय उत्पादनलाई प्राथमिकता दिने योजना रहेको स्थानीय क्षितिज तामाङले बताउनुभयो ।
त्यसका लागि बाह्रै महिना चल्ने सडक, स्वच्छ खानेपानी, चेतनाको विकास, एकिकृत बस्तीसँगै अन्य पूर्वाधारको विकास गर्नुपर्नेमा स्थानीले जोड दिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्