बाली जोगाउन बारीमै जाग्राम बस्छन् काप्रेचौरवासी

सल्यान । सल्यान कालीमाटी गाउँपालिका–७ काप्रेचौरकी भिमसरा बुढा वर्षौँदेखि बारीमै जाग्राम बसेर रात बिताउने गर्नुहुन्छ । उहाँलाई बारीमा रात बिताउन रहर होइन बाध्यता हो ।
उहाँ वर्षामा वर्षे बाली जोगाउन बारीमा रात बिताउन बाध्य हुनुहुन्छ भने आजभोलि चाहिँ तरकारी र गहुँ बाली जोगाउन बारीमा जाग्राम बस्नुहुन्छ ।
काप्रचौरकै टेकबहादुर बिकको पिडा पनि भिमसरका भन्दा फरक छैन । उता गोठमा बाधेका बाख्रा बाघले खाइदिने गरेको छ । विशेष गरी निकुञ्ज क्षेत्र भित्र बस्ती भएकाले उहाँ दुई मात्र होईनन, यहाँका सयौँ किसान यसरी नै रातभरि बारीमा जाग्राम बस्ने गरेका छन् ।
बाँके राष्ट्रिय निकुञ्जमा बढ्दै गरेका जङ्गली जनावरका कारण बालीमा क्षति पुर्याउन थालेपछि सल्यान काप्रेचौरका नागरिक बारीमै रात बिताउँदै आएका हुन ।

सरकारले २०६७ सालमा काप्रेचौरसम्मलाई बाँके राष्ट्रिय निकुञ्जमा समेटेपछि जङ्गली जनावरले हैरान बनाएका छन् । बँदेल, बाँदर र दुम्सीले मकै, गहुँ बाली‚ फलफूल, तरकारीमा क्षति पुर्याउँछन् भने बाघले गोठ भित्रै आएर पशु बस्तु खाइदिने गरेको छ । वन्यजन्तुकै कारण अधिकांश स्थानीयले बाली लगाउन छोडेका छन् ।
“बाली लगाएर के गर्ने ? पाक्ने बेलामा वन्यजन्तुको हुल आएर सबै बाली नष्ट गरिदिन्छ” स्थानीय निर्मला बुढाले भन्नुभयो, “बाली लगाउँछौ तर जनावरले सखाप पारिदिन्छ, अब त उठिबास नै लाग्ला जस्तो भइसक्यो, वर्षभरि खान पुग्ने जग्गा बाँझो हुन थालेपछि बाहिरको खाद्यान्नको भर पर्नुपरेको छ ।”
राष्ट्रिय निकुञ्जसँगै मध्यवर्ती क्षेत्रमा पर्ने काप्रेचौर, र्याङ, आम्बास, स्वयम्बास, कुसुमतरा, हाउखोला, बाटुले लगायतका स्थानीयले जङ्गली जनावरबाट क्षति बेहोर्नुपरेको मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष डम्बर पुनले बताउनुभयो ।
एकातिर निकुञ्जले वन जङ्गल र वन्यजन्तुको संरक्षण गरे पनि अर्कोतर्फ भने निकुञ्ज क्षेत्र भित्र बसोबास गर्ने स्थानीयले लगाएको बाली जोगाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाघले समेत घरभित्रै पसेर गाई–बाख्रा मार्ने, मान्छेलाई समेत बारम्बार आक्रमणको प्रयास गर्ने गरेको छ ।”
निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र वन्यजन्तुलाई हानी पुग्ने कुनै पनि गतिविधि गर्न नपाइने र यसको संरक्षण गर्नुपर्ने भएपछि वन्यजन्तुले नै मानव जीवनलाई प्रभावित बनाइरहेको छ । यस क्षेत्रमा ५ सयभन्दा बढी घर परिवार बसोबास गर्छन् । तर जङ्गली जनावरका कारण ती सबै प्रभावित भएका छन् । समस्याको दीर्घकालीन समाधान खोज्न स्थानीयले मागसमेत गरेका छन् ।

जङ्गली जनावरले प्रत्येक वर्ष बालीनालीमा क्षति गर्दै आए पनि क्षतिपूर्ति पाउन नसकेको किसान केशर बिसीले दुखेसो गर्नुभयो । रात पर्ने बित्तिकै बाघ आहारा खोज्दै बस्तीमा छिर्ने गरेको तर सम्बन्धित निकायले जङ्गली जनावरको सुरक्षा बढी गरेको, मान्छेको सुरक्षामा कुनै चासो नदिएको गुनासो उहाँले गर्नुभयो ।
स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन नसकेका कालीमाटी गाउँपालिका ७ का वडा अध्यक्ष नैनसिंह रानाले बताउनुभयो । बालीनालीमा वन्यजन्तुले ठुलो क्षति पुर्याउने गरेका कारण सानो बजेटले तारजाली लगाउन नपुग्ने उहाँले बताउनुभयो । वडाबाट निकुञ्जमा बालीमा गरेको क्षतिको विवरण पठाए पनि कम मात्रामा राहत दिने गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्