सुनकोशी १ का सबै घरमा मिटर जडित धारामार्फत खानेपानी

सिन्धुपाल्चोक । सुनकोशी गाउँपालिका वडा नं. १ ठोकर्पाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गरिएको छ ।
बिहीबार एक कार्यक्रमबिच पूर्व सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति उद्घाटन गर्नुभएको थियो । उद्घाटनकै क्रममा नेता बस्नेतले मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने नेपालकै पहिलो वडा सुनकोशी १ भएको घोषणा गर्नुभयो ।
कार्यक्रममा सुनकोसी गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीले सुनकोशीको वडा नं. १ बाट सुरु भएको यो अभियान अब गाउँपालिकाका सबै वडाहरूमा सञ्चालन हुने बताउनुभयो ।
वडाका सम्पूर्ण घरधुरीहरू तथा संघसस्थाहरु सहित ७ सय ८६ धुरीमा पानी उपलब्ध गराउने कार्य सम्पन्न भएको वडा अध्यक्ष नेत्र बहादुर कार्कीले बताउनुभयो । अध्यक्ष कार्कीका अनुसार वडाका सबै घरधुरीमा मिटर जडित धारामार्फत नियमित खानेपानी आपूर्ति गर्ने यो वडा नेपालकै पहिलो हो ।
अत्यन्त सुख्खा ग्रस्त क्षेत्रको रुपमा रहेको यस क्षेत्रका स्थानीयहरूले विगत लामो समयदेखि खानेपानीको चरम अभाव भोगिरेका थिए । वडामा अब ६ महिनाको सुख्खा समयमा खानेपानी मागको करिब ४५ प्रतिशत डिपबोरिङ, ३५ प्रतिशत लिफ्टिङ र बाँकी २० प्रतिशत अन्य प्राकृतिक मुहानहरूबाट खानेपानीको अपूर्ती भइरहेको वडा अध्यक्ष कार्कीले बताउनुभयो ।
वर्षायामको समयमा करिब शत प्रतिशत नै प्राकृतिक मुहानको पानीलाई शुद्धीकरण गरी खानेपानी वितरण प्रणालीमा जोडेर खानेपानीको अपूर्ती गरिने कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्