एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
दुबईमा शुक्रवार भएको खेलमा नेपाल आयोजक युएईसँग ४८ रनले पराजित भएको हो । युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २० रनमा समेटियो ।

नेपालको ब्याटिङ चल्न सकेन । नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाउँदै युएईविरुद्ध डटे पनि अन्य ब्याट्सम्यानहरूको प्रदर्शन निराशा जनक रह्यो । दोस्रो सर्वाधिक रनको रुपमा ज्ञानेन्द्र मल्लको २८ रन रहे पनि अरूले ११ रन भन्दा माथिको स्कोर गरेनन् ।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४६ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६८ रन बनाएको थियो । युएईलाई सस्तैमा समेट्न नेपालका सोमपाल कामीले ४ विकेट लिए । यस्तै करण केसीले ३ तथा सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान १/१ विकेट लिए ।
यस सिरिजमा नेपालको यो पहिलो हार हो । पहिलो खेलमा नेपालले पीएनजीलाई २ विकेटले हराएको थियो । युएईको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा युएईले पीएनजीलाई नै ७ विकेटले हराएको थियो ।
अब नेपालले तेस्रो खेलमा युएईविरुद्ध नै सोमबार प्रतिस्पर्धा गर्नेछ । नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मङ्गलवार खेल्नेछ । लिग टु मा कुल ७ टिम सहभागी रहेका छन् । नेपालले १० खेलमा १० अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । युएई भने १६ खेलमा ९ जित निकाल्दै २० अङ्कका साथ दोस्रो स्थानमा छ ।








प्रतिक्रिया राख्नुहोस्