नेपाल एयरलाइन्सले कोभिडका कारण स्थगित भएका गन्तव्यहरूमा उडान विस्तार गर्ने

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यहरूमा उडान विस्तार गर्न थालेको छ ।
महामारीको जोखिम कम भएर सबैजसो क्षेत्र सहज बन्दै गएपछि नेपाल एयरलाइन्सले महामारीअघि उडान सेवा दिइरहेका गन्तव्यहरूमा पुनः उडान सुरु गर्न थालेको हो ।
महामारीको असहज अवस्थामा पनि नियमित उडान भइरहेको भारतको नयाँ दिल्ली गन्तव्यमा निगमले गत फागुन ३० देखि दैनिक दुई उडान गरिरहेको छ ।
नेपाल एयरलाइन्सले दुई वर्षको अन्तरालपछि भारतको मुम्बई र बैङलोरमा पुनः उडान गर्ने घोषणा गरिसकेको छ । निगमले यही चैत्र ५ गतदेखि बैङ्लोर र चैत्र १५ गतेदेखि मुम्बईमा साताको ३ दिन उडान गर्ने तयारी गरेको हो ।
यसैगरी नेपाल एयरलाइन्सले जापानको नारितामा साताको दुई दिन उडान गर्ने गरी आवश्यक तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।
हाल नारितामा साताको एक दिन शुक्रवार मात्रै उडान भइरहेको छ । यसैगरी थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा यसअघि सातामा एक मात्रै उडान गरिरहेको नेपाल एयरलाइन्सले आगामी चैत ७ गतेदेखि सातामा दुई उडान गर्ने तयारी गरेको छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले सात देशका नौ गन्तव्यमा उडान गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्