मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू जनकपुरधाममा

जनकपुरधाम । मिथिलाञ्चलसहित तराई मधेसको सबैभन्दा ठूलो तथा लामो धार्मिक पदयात्राको रुपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू आज जनकपुरधाम आइपुगेका छन् ।
बुधवार १४औँ विश्राम स्थलको रुपमा रहेको भारतको विहार राज्यको बिशौलामा गए राति विश्रामपछि परिक्रमा यात्री भगवान् राम तथा माता सीताको डोलासँगै आज बिहानैदेखि जनकपुरधाम आउन थालेका छन् । यात्रीहरू आज बिहानदेखि आउन थालेको र यो क्रम साँझसम्म चल्नेछ ।
बिशौला तथा जनकपुरधामको दूरी सबैभन्दा लामो हुने भएकाले तीर्थयात्रीहरू बढी मात्रामा थकित हुने गरेका छन् । भोलि बिहानै अन्तरगृह पञ्चकोशी परिक्रमामा सहभागी भएर १५ दिने मध्यमा मिथिला परिक्रमको समापन गरिन्छ । परिक्रमाको डोला जनकपुरधामको गंगासागर डिलमा विश्राम गर्ने गर्दछन् ।
त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मध्यमा मिथिला परिक्रमा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा भजन कीर्तनसहित भ्रमण गर्ने गर्दछन् ।
नेपाल तथा भारतको साझा सांस्कृतिक महत्त्वको मध्यमा मिथिला परिक्रमा दुवै देशका १५ पडाव स्थलमा विश्राम गर्दै १५ दिन लगाएर नेपाल भारतको १ सय ३३ किलोमिटरको दूरी भजन कीर्तनसहित तय गर्ने गरेका छन् । जसमा नेपालतर्फ १ सय ७ किलोमिटर तथा भारतमा २६ किलोमिटर रहेको छ ।
परिवारजनको शान्ति, समृद्धि, सुख, ऐश्वर्य प्राप्तिसहित अन्त्यमा मोक्ष प्राप्ति हुने जनविश्वासका साथ कतिपयले पटक पटक तथा केहीले एक पटक भए पनि मध्यमा मिथिला परिक्रममा सहभागी हुनुपर्ने धार्मिक मान्यताका साथ सहभागी हुने गरेका छन् ।
परिक्रमा सहभागीहरूलाई परिक्रमा मार्ग तथा हरेक पडाव स्थलमा धार्मिक मेला, धार्मिक कथा प्रवचनका साथै भक्तजनहरूलाई विभिन्न प्रकारको सेवा तथा सुविधाहरू विभिन्न सामाजिक सङ्घ संस्था तथा व्यक्तिले प्रदान गर्ने गरेका छन् । यस पटक कोरोना महामारीको अवस्था सामान्य भएका कारणले तीर्थयात्रीहरूको सङ्ख्या व्यापक मात्रामा बढेर गएको छ ।








प्रतिक्रिया राख्नुहोस्