तपाईँ सुन्दै हुनुहुन्छः

भोजपुर गोल्डकप फुटबल: आयोजकको विजयी सुरुवात

भोजपुर । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा मङ्गलवारबाट जारी पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप फुटबल प्रतियोगिताको पहिलो खेलमा मोरङको सगरमाथा यूथ क्लबलाई ट्राइबेकरमा हराउँदै आयोजक भोजपुर जिल्ला फुटबल सङ्घले विजयी सुरुवात गरेको छ । ट्राइबेकरमा भएको खेलमा भोजपुरले ७ गोल गर्‍यो भने मोरङले ६ गोल ।

निर्धारित समयमा दुवै पक्षबाट २/२ गोल भए पछि खेल ट्राइबेकरमा गएको थियो । भोजपुरका तर्फबाट दिपक आले र सन्तोष तामाङले १/१ गोल गरे भने मोरङका तर्फबाट निशान खडका र अशोक खवासले १/१ गोल गरेका थिए । सो पश्चात् भएको ट्राइबेकरमा भोजपुरका तर्फबाट लक्ष्मण तामाङ, रेमन उदास, रामबहादुर तामाङ, प्रवीण राई र विजय भुजेलले गोल गरेका थिए । मोरङका तर्फबाट दोर्जे तामाङ, अशोक खवास, सुशील राई र हेमन्त थापाले गोल गरे ।

नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिता अन्तर्गत बुधवारको दोस्रो खेल भगवती स्पोर्टस क्लब खोटाङ र राष्ट्रिय जागृति क्लब सुनसरीबिच हुने आयोजक भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले गर्नुभएको थियो ।

३० लाख २७ हजार ५५ रुपैयाँको लागतमा चैत्र १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा अमुक्ता परिवार, वेस्ट बङ्गाल भारत, भोजपुर फुटबल क्लब, सगरमाथा यूथ क्लब मोरङ, राष्ट्रिय जागृति क्लब सुनसरी, भगवती स्पोर्टस क्लब खोटाङ, बसाहा क्लब उदयपुर, सतासीधाम स्पोर्टिङ क्लब झापा र गोर्खा ब्वाइज रुपन्देहीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले नगद ३ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button