विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा ठोरीमा चेतनामूलक र्याली र सभा

वीरगंज । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आज पर्साको ठोरीमा चेतनामूलक र्याली तथा प्रभातफेरी कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बीरगंज पर्साको आयोजनामा ठोरी गाउँपालिकाको वडा नम्बर २ स्थित सरस्वती माध्यमिक विद्यालयबाट प्रारम्भ भएको चेतनामूलक तथा प्रभातफेरीले ठोरीको गौतमनगर स्थित चोकबजार परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
उपभोक्ता अधिकार सम्बन्धी नारा अङ्कित प्ले कार्ड सहित निस्किएको प्रभातफेरीमा विद्यार्थी, व्यापारी, शिक्षक तथा सरोकार निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष पिएल श्रेष्ठले नेपालमा उपभोक्ता संरक्षण ऐनले उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूत गरेको भए पनि ती अधिकार व्यवहारमा लागु हुन नसकेको बताउनुभयो । उहाँले उपभोग्य वस्तुमा हुने मिसावट र बजारमा हुने कालोबजारीले उपभोक्ता सधैँ मारमा पर्ने गरेको गुनासो गर्दै उपभोक्ताले मूल्य तिरे अनुसारको सेवा, गुणस्तरीय सामान पाउनुपर्ने अधिकार कुण्ठित हुनबाट जोगाउन सबै पक्ष चनाखो हुनु पर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बजारमा खाद्य वस्तुमा मिसावट र कालो बजारी रोक्न स्थानीय प्रशासन प्रतिबद्ध रहेको र उपभोक्ताहरू पनि मूल्य, गुणस्तर र नापतौलमा सचेत हुनु पर्ने कुरामा जोड दिनुभयो ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज पर्साका निमित्त कार्यालय प्रमुख दिलीप खंग खत्वेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वक्ताहरूले ग्रामीण क्षेत्रका व्यवसायी र सर्वसाधारणलाई उपभोक्ताको अधिकारका बारेमा जानकारी दिन गाउँमुखी कार्यक्रम सञ्चालन गरेकोमा वाणिज्य कार्यालयलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा ठोरी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष किशोर तामाङ ,सरस्वती माबिका प्रधानाध्यापक केशव प्रसाद रेग्मी, व्यवसायी बिष्णु विष्ट, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
र्याली तथा प्रभातफेरीमा स्थानीय शिक्षक, विद्यार्थी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण वाणिज्य कार्यालय वीरगंजका नासु रामप्रवेश यादवले गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्