तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय नागरिक सवार हेलिकप्टर बझाङमा अवतरण  

बझाङ । बझाङको थलारा गाउँपालिका–९ छालागडामा भारतीय नागरिक सवार हेलिकप्टर अवतरण भएको छ । 

कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा अवतरण भएको हो । 

स्थानीय जनप्रतिनिधि, प्रहरी तथा प्रशासनसँग समन्वय नगरेर हेलिकप्टरमा आएका भारतीय मूलका मानिसले सेती नदी अवलोकन गरेर फर्केका छन् । आफूहरूलाई हेलिकप्टर आउने जानकारी नै नभएको थलारा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष मोहनराज जोशीले बताउनुभयो ।

उहाँका अनुसार हेलिकप्टर अवतरण भएपछि स्थानीयले सोध्दा नदीको बहाव र कटान गरेको हेर्न आएको भनेको बताएका थिए । त्यसपछि आफूहरूले प्रहरीलाई खबर गरेको र प्रहरी पुग्नुअघि नै उनीहरू उडेको उहाँले बताउनुभयो । 

हेलिकप्टरमा चालकसहित पाँच जना भारतीय मूलका नागरिक रहेको वडा अध्यक्ष जोशीले बताउनुभयो । 

उहाँले भन्नुभयो “हिन्दी बोलिरहेका थिए । साथमा नक्सा पनि बोकेका थिए । उनीहरू करिब आधा घण्टा बसेपछि गए ।” 

हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे जिल्ला प्रशासन कार्यालय बझाङ पनि अनभिज्ञ छ । हेलिकोप्टरको विषयमा सोधी खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । 

हेलिकप्टरमा को, किन आए भनेर नखुलेको र आफूलाई कुनै पूर्व जानकारी पनि नभएकाले यस बारेमा आफु बुझ्ने समेत अधिकारी अर्यालले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button