पातारासी गाउँपालिकाको दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ सम्पन्न

जुम्ला । पातारासी गाउँपालिकाको दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०७८/८९ को दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पातारासीका शिक्षा,स्वास्थ्य,कृषि,महिला,पशु लगायतका विभिन्न शाखाको दोस्रो चौमासिक सम्मको प्रगति सार्वजनिक गरिएको छ ।
दोस्रो चौमासिक सम्मको प्रगति समीक्षा गर्न, नागरिकका गुनासा सुन्न, योजना सम्झौताबारे जानकारी गराउन र सुशासन पारदर्शिताको कायमका लागि दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ गरिएको पातारासीका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद धितालले बताउनुभयो ।
उहाँले भन्नुभयो,“दोस्रो चौमासिकमा समष्टिगत प्रगति भन्दा पनि विषयगत शाखाको प्रगति सुन्ने, नागरिकका जिज्ञासा सम्बोधन गर्ने,समयमै योजना सम्झौता गर्नेबारे सुझाउ उद्देश्यले सार्वजनिक सुनुवाइ गरेका हौ । यस्ता कार्यक्रमले सेवा प्रवाहमा सहजता तथा पारदर्शिता कायम हुने विश्वास छ ।”
चालु आवमा पारातासीका ७ वटै वडामा तर्जुमा भएका झण्डै १ सय बढी योजना मध्य ३५ बढी योजना सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत धितालले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णु प्रसाद धिताल आइसकेपछि जिल्लाका आठ पालिका मध्य पहिलो पालिकाका रुपमा दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ भएको हो ।

प्रत्येक चौमासिकमा सरकारी कार्यालयले आफ्ना गतिविधि सार्वजनिक गर्नु पर्ने भएपनि कुनै स्थानीय तह विषयगत कार्यालयले गरेको पाइदैन् । सार्वजनिक सुनुवाइ ऐन २०५५ को नियमावली २०५६ अनुसार अनिवार्य सार्वजनिक सुनुवाइ गर्नुपर्ने प्रावधान अनुसार पातारासी गाउँपालिकाले शुरुका वर्षदेखि नियमित सार्वजनिक सुनुवाइ गर्दै आएको छ ।
आगामी दिनमा पनि नियमित सार्वजनिक सुनुवाइ गर्ने पातारासी गाउँपालिकाले जनाएको छ ।
पातारासीमा विद्युतको विकास नमुना रुपमा भएको छ । जिल्लाकै पहिलो उज्यालो पालिकाका रुपमा घोषणा गर्ने तयारीमा पनि पातारासी जुटिरहेको छ । पातारासीको पूर्वाधार विकासलाई प्रभावकारी देखि सेवा प्रवाहलाई सहज बनाउन आफु प्रतिबद्ध रहेको प्रमुख प्रशासकीय अधिकृत धितालको भनाई छ ।
पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोराले पातारासीले जनताले महसुस गर्ने गरी काम गरेको बताउनुभयो । कानुनी अड्चन, बजेटको अभाव लगायतका कारणले अपेक्षित रुपमा काम गर्न नसके पनि सङ्घीयताको मर्म अनुसार विकास गर्न जनप्रतिनिधि प्रयासरत रहेको अध्यक्ष बोहोराको भनाई छ ।
दोस्रो चौमासिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा पातारासी गाउँपालिकाका उपाध्यक्ष, विषयगत शाखाका प्रमुख, कर्मचारी र ७ वटै वडाका वडाध्यक्ष र स्थानीयको सहभागिता रहेको थियो ।
समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण रेडियो कर्णाली एफएम जुम्लाले गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्