पोखराका सडक असिनाले सेताम्मे, जनजीवन प्रभावित
पोखरा । पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्म निरन्तर पर्दा पोखराका अधिकांश सडकहरू असिनाले सेताम्मे भए । सडकमा बाक्लो असिना जम्यो ।

पोखराका सडकहरूमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नोक्सानी पुगेपछि कृषक मर्कामा परेका छन् ।
पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुल, चिप्ले ढुङ्गा, न्युरोड, नयाँ बजार, सिर्जना चोक, रानीपौवा लगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पुर्याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ । महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् ।
महाशाखा प्रमुख मनहर कडरियाले भन्नुभयो, “विगतका वर्षहरूमा फागुन अन्तिम र चैतमा असिना पर्ने गरे पनि यस वर्ष अनुमानभन्दा पहिल्यै परेपछि तरकारी बालीमा बढी क्षति गरेको छ । कृषकहरूले क्षतिका प्रारम्भिक रिपोर्टहरू दिनुभएको छ । बजार क्षेत्रमा यति बाक्लो असिना परेको मेरो जानकारीमा रहेसम्म अहिले नै हो ।”
पोखरामा अघिल्ला वर्षहरूमा पनि ग्रामीण क्षेत्रमा बाक्लो असिना पर्ने गरेको थियो । बजार क्षेत्रमा भने वर्षौँपछि बाक्लो असिना परेको बताइन्छ ।
रासस







प्रतिक्रिया राख्नुहोस्