गाउँमै पुगेर पढाउँछन् शिक्षक

दोलखा । दोलखाको हिमाली गाउँ ठोङठोङमा रहेको प्राथमिक विद्यालयका विद्यार्थीलाई कोरोना कहरको समयमा पनि गाउँ–गाउँमै पुगेर पढाउने गरेका छन् ।
कोरोना कहरको बेला विद्यालय आउन समस्या हुने भएकोले सबै विद्यार्थीलाई गाउँ–गाँउमा पुगेर पढाउने गरिएको विद्यालयका शिक्षक धनबहादुर बस्नेतले बताउनुभयो । दोलखाको विगु गाउँपालिका वडा नम्बर १ को हिमाली गाउँ ठोङठोङमा रहेको ठोङठोङ प्राविमा १२ जना विद्यार्थी रहेको र उनीहरूलाई कोरोना कहरको समय विद्यालय बन्द हुँदा पनि गाउँ–गाउँमै पुगेर गृहकार्य दिने, पढाउने र गृहकार्य परिक्षण गर्ने गरिएको शिक्षक बस्नेतले बताउनुभयो ।
विगतमा शिक्षक नियमित नबसेपछि पढाइमा समस्या देखिएर विद्यार्थीको सहभागिता घट्दै गएकोले आफूले कोरोना कहरको समयमा समेत गाउँ–गाँउमा पुगेर पढाउने गरेको शिक्षक बस्नेतको भनाई छ । तामाङ समुदाय रहेको ठोङठोङमा विद्यालयमा पढाई भएन भने बालबालिकालाई भारत लाने गरिएकोले उनीहरूलाई पढाइमा बानी पार्न कोरोना कहरको समयमा समेत गाउँ–गाउँमै पुगेर पढाउने गरिएको बस्नेतले बताउनुभयो ।
विद्यालयका अभिभावक मङ्गली तामाङले कोरोनाको बेला विद्यालय सञ्चालन नभएको तर सर, मिसले गाँउमा आएर पढाउने गरेको बताउनुभयो ।
विद्यालय रहेको क्षेत्र ठोङठोङ, बलफिङ र काटुङ गरी तीन गाँउमा १७ घरधुरी रहेकोमा पाँच घरधुरी लामाबगरमा बसाई सरेकोले १२ घरधुरीका १४ बालबालिका मध्य १२ जना नियमित विद्यालय आउने गरेको शिक्षक बस्नेतको भनाई छ । दुई बालबालिका भने भारतमा लामा पढ्न गएको उहाँले बताउनुभयो ।
ठोङठोङ खोलामा पुल नहुदा बर्षाको समयमा बलफिङ र काटुङका ६ जना विद्यार्थी विद्यालयसम्म आउन नसक्ने भएकोले उनीहरूलाई गाउँमै पुगेर पढाउनु पर्ने बाध्यता रहेको बस्नेतको भनाई छ । विद्यालयको कार्यालय सहयोगी बिनु तामाङले १२ कक्षा पास गरेकोले वर्षाको समयमा उहाँले बलफिङ र काटुङका विद्यार्थीलाई गाउँमै पुगेर पढाउने गरेको बस्नेतले बताउनुभयो । अहिले काठको पुल राखिएको भएपनि वर्षाको समयमा समस्या हुने उहाँले बताउनुभयो ।
भूकम्प पछि विद्यालयको भवन क्षतिग्रस्त भएपछि केही समय पढाइमा समस्या देखिएको र अहिले पुनर्निर्माण प्राधिकरणको सहयोगमा दुई कोठे भवन निर्माण भएको बस्नेतले बताउनुभयो । अहिले विद्यालयमा खानेपानीको भने समस्या रहेको उहाँले बताउनुभयो । ठोङठोङ प्रा.वि.को बाल कक्षामा दुई छात्रासहित तीन जना, कक्षा एक मा पाँच छात्रासहित छ जना र कक्षा दुईमा दुई छात्रासहित तीन जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।
विगु गाउँपालिकाको शिक्षा शाखाका निमित्त प्रमुख नवराज बस्नेतले ठोङठोङ प्राविमा कोरोना कहरको समयमा समेत पढाई भएको उल्लेख गर्दै विद्यालयमा खानेपानीको समस्या र खोलामा पुल नहुँदा विद्यार्थीलाई आउजाउमा समस्या भएको बारेमा भने पालिकामा जानकारी नभएको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्