तपाईँ सुन्दै हुनुहुन्छः

निःशुल्क स्वास्थ्य बिमाले तातोपानीका विपन्न नागरिक खुसी

विपन्न नागरिकलाई बिमा कार्ड वितरणपछि, तस्बिर: सागर परियार । 

जुम्ला । तातोपानी गाउँपालिकाले पालिकाका अतिविपन्न नागरिकलाई गरिदिएको निःशुल्क स्वास्थ्य बिमाको कार्ड वितरण शुरु गरेपछि विपन्न नागरिक खुसी भएका छन् । सोमबार तातोपानी गाउँपालिकाको वडा नं.३ लिताकोटबाट विपन्न नागरिकहरूलाई बिमा कार्ड वितरण शुरु गरे सँगै नागरिकहरू निःशुल्क उपचार पाउने भन्दै खुसी भएका हुन् ।  

जनता सँग अध्यक्ष कार्यक्रम अन्तर्गत ३ नम्बर वडाका ५० जना विपन्न नागरिकको बिमा गरी सोमबार बिमा कार्ड वितरण गरिएको तातोपानीका अध्यक्ष नवराज न्यौपानेले बताउनुभयो । 

उहाँले भन्नुभयो,“आर्थिक अभावले उपचार गराउन नपाएका विपन्न नागरिकको राहतका लागि निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम ल्याइएको हो । पालिकाका ८ वटै वडाका सबै विपन्न नागरिकको बिमा गरिने छ । ३ नम्बर वडाबाट बिमा कार्ड वितरण गरेका छौ । अन्य वडामा अझै बिमा गर्ने काम जारी छ । सक्ने बित्तिकै कार्ड वितरण गरी उपचारमा राहत दिलाउँछौ ।”

वडा नम्बर ३ की स्वास्थ्य बिमा दर्ता सहयोगी रेवती रावलका अनुसार १० जना अतिविपन्न नागरिकको ३५ सय र अन्यको २ हजारका दरले पालिकाले बिमा गरिदिएको छ । फागुन १ गते देखिनै लागु हुने गरी बिमा कार्ड दिइएको उहाँको भनाई छ । 

वडा नं. ३ का लाउरी रोकाया, चैतीबुढा, धनसिंगे रावत, बिर्ष कार्की, धनसिंह रावल, बले सार्की लगायतका १० जना  अति विपन्न नागरिकको तीन हजार पाँच सय रुपैयाँ तिरेर बिमा गरिदिएको छ । उनीहरूले १ लाख ५० हजार बराबरको उपचार अब निःशुल्क पाउने छन् । सडक मानव लाउरी रोकायाको यतिबेला प्रहरी प्रशासनको समन्वयमा कर्णाली प्रतिष्ठानमा उपचार भइरहेको छ । 

गाउँपालिकाले निःशुल्क बिमा गरेर कार्ड हातमा दिएपछि खुसी छौ । तातोपानी ३ का बले सार्कीले भन्नुभयो,“बिमा गरेपछि उपचार निःशुल्क हुन्छ भन्ने सुनेका मात्रै थियौ । बिहान बेलुका छाक टार्ने मुस्किल हुन्छ । बिमा गर्ने स्थिति थिएन । धेरै पटक स्वास्थ्यमा समस्या आए पनि पैसा नहुँदा उपचार गरिएन । अब बिमा भैगो ढुक्कले उपचार गराउने छ ।”

राम्रो उपचार नपाएर मरिहाल्छु की भन्ने सोचेकी लिताकोटकै विर्सा कार्कीले निःशुल्क स्वास्थ्य बिमा गरेर कार्ड नै हातमा आएपछि अब थोरै समस्या भए पनि सहजै जँचाउन जाने पाउने भन्दै खुसी व्यक्त गरिन् । अध्यक्ष नवराज न्यौपानेले अन्तिम कार्यकालमा जनमुखी काम गरेको भन्दै विपन्न नागरिक खुसी छन् । 

प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले विपन्न नागरिकको निःशुल्क बिमाका लागि चालु आवमा १० लाख विनियोजन भएको बताउनुभयो । उनका अनुसार पालिकाका ८ वटै वडाका सबै विपन्न नागरिकलाई १० लाख बजेट मार्फत बिमा गराइने छ । यस्ता जनमुखी कामलाई आगामी आउने जनप्रतिनिधिले पनि निरन्तरता दिनुपर्ने उनको सुझाव छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button