तपाईँ सुन्दै हुनुहुन्छः

हिमपातका कारण चरिकोटमा अत्यधिक चिसो बढ्यो 

दोलखा । दोलखा सदरमुकाम चरिकोटमा निक्कै वर्षपछि शुक्रवार झन्डै आधा घण्टा हिमपात भएको छ । 

दिउँसो २ बजेबाट झन्डै आधा घण्टा हिमपात भएको थियो । 

हिमपातका कारण चरिकोट बजारमा अत्यधिक चिसो बढेको छ । बजार क्षेत्रमा हिउँ नदेखिए पनि बजारभन्दा माथितिर हिउँले सेताम्य भएको छ । 

१ हजार ९ सय ७० मिटरको उचाँईमा रहेको चरिकोटमा दुई वर्षअघि सामान्य हिमपात भएको थियो । शुक्रवार भने पटक– पटक गरी आधा घण्टाभन्दा बढी समय हिमपात भएको स्थानीयले बताएका छन् ।

दोलखाको खरीढुङ्गा क्षेत्रमा अत्यधिक हिमपात भएपछि काठमाडौँबाट दोलखा र रामेछापको विभिन्न ठाउँमा जाने यातायातका साधनहरू केही समय अवरुद्ध भएको थियो । 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको पहलमा अवरुद्ध यातायात सुचारु गरिएको प्रहरीले जनाएको छ । 

दोलखाको कालिन्चोक, सैलुङ र खावाडाँडा क्षेत्रमा पनि अत्यधिक हिमपात भएको स्थानीयले बताएका छन् । 

३ हजार ८ सय ४२ मिटरको उँचाइमा रहेको कालिन्चोक क्षेत्रमा माघ महिनामा मात्र चार पटक हिमपात भइसकेको छ । 

दुई हप्ताको बीचमा चार पटक हिमपात भएपछि कालिञ्चोकको कुरी, मन्दिर रहेको टाँपु, गणेशथुम्का, गैरीलगायत सबैतिर सेताम्य भएको स्थानीय होटल व्यवसायीहरू बताउँछन् । 

हिमपातमा सधैँ पर्यटक भरिभराउ हुने कालिञ्चोकमा कोरोना संक्रमण बढ्दै गएकोले खासै पर्यटक नदेखिएको कुरीमा सञ्चालित होटल सुनपातिका विमल ओझाले बताउनुभयो । 

माघ महिनामा पटक पटक हिमपात भएपछि सैलुङ क्षेत्रमा पनि पर्यटक बढेका छन् । हिमपातपछि आलु खेती राम्रो हुने भएकोले स्थानीय किसान खुसी भएको सैलुङ– ८ झोरका सन्दीप श्रेष्ठले बताउनुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button