विद्युतीय माध्यमबाट कारोबार गर्दा सजग भएर गर्न राष्ट्र बैङ्कको आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबार बढेसँगै विभिन्न माध्यमहरूको प्रयोग गरी हुने ठगीको गुनासो बढेको भन्दै सर्वसाधारणलाई सजग भएर कारोबार गर्न आग्रह गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्दा विभिन्न आपराधिक व्यक्ति, समूहले विभिन्न माध्यम प्रयोग गरी ग्राहकलाई ठगी गरिरहेको भन्ने गुनासो प्राप्त भइरहेको जनाएको छ ।
नेपाल राष्ट्र बैङ्क विद्युतीय भुक्तानी प्रयोगकर्तालाई कारोबार गर्दा विभिन्न ७ वटा विषयहरूमा ध्यान दिएर कारोबार गर्न आग्रह गरेको छ ।
राष्ट्र बैङ्कले सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनुपर्दछ ।
त्यसैगरी अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड नगर्न त्यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्ने भएकोले सजगता अपनाउन पनि आग्रह गरेको छ ।
कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यु आर कोर्ड पठाएको अथवा एप को पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनु पर्ने राष्ट्र बैकले सूचनामा उल्लेख गरेको छ ।
त्यस्तै रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बार कोड क्युआर कोर्ड अथवा पासवर्ड पठाउन आवश्यक छैन, राष्ट्र बैकले भनेको छ ।
१. सामाजिक सञ्जालमार्फत चिनजानका मान्छेको नाममा रकम माग गर्ने, बैङ्कबाट फोन गरेको भनी इन्टरनेट बैंकिङ्ग अथवा मोबाइल बैंकिङ्गको युजर नेम तथा पासवर्ड माग्ने, नक्कली वेबसाइट बनाई ग्राहकका गोप्य सूचनाहरू लिने, ठूलो रकमको चिठ्ठा परेको भनी लोभ देखाई उक्त चिठ्ठा रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, अत्यधिक नाफाको लोभ देखाई गैर कानुनी घोषणा गरिएका उपकरणमा लगानी गर्न उत्प्रेरित गर्ने लगायतका ठगी भइरहेको जानकारीमा आएकोले विद्युतीय कारोबार गर्दा यस प्रकारको ठगीबाट बच्न विशेष ध्यान दिनु जरुरी देखिन्छ ।
२. अपरिचित व्यक्तिलाई कुनै पनि माध्यमबाट आफ्नो गोप्य पासवर्ड, ओटिपि वा अन्य कुनै पनि संवेदनशील जानकारी दिनुहुँदैन । मोबाइल तथा अन्य डिभाइस एवम् एपका पासवर्डहरू बेलाबेलामा परिवर्तन गर्नुपर्दछ । यस्ता पासवर्ड गोप्य तरिकाले सुरक्षित राख्नुपर्दछ ।
३. सामाजिक सञ्जाल वा कुनै विद्युतीय माध्यमबाट म्यासेज पठाई रकम पठाउन आग्रह गरेमा रकम पठाउनुअघि सोही व्यक्तिले रकम माग गरे नगरेको ब्यहोरा अन्य माध्यमबाट यकिन गरेर मात्र रकम पठाउनुपर्दछ ।
४. अनावश्यक तथा अनधिकृत एप आफ्नो मोबाइल फोन वा अन्य डिभाइसमा डाउनलोड गर्नुहुँदैन । यसरी अनधिकृत एप डाउनलोड गर्दा आफ्ना सबै संवेदनशील सूचनाहरू आपराधिक समूहले पत्ता लगाउन सक्छन् ।
५. कसैले रकम भुक्तानी गर्ने बहानामा बारकोड अथवा क्यु आर कोर्ड पठाएको अथवा एप को पासवर्ड आवश्यक छ भनेर म्यासेज गरेको कार्यलाई शङ्कास्पद रुपमा लिनुपर्दछ । रकम भुक्तानी लिन वा पैसा प्राप्त गर्न कुनै पनि बार कोड क्युआर कोर्ड अथवा पासवर्ड पठाउन आवश्यक छैन ।
६. कुनै पनि वेबसाइट मार्फत विद्युतीय कारोबार गर्नुअघि सम्बन्धित संस्थाको आधिकारिक वेबसाइट हो÷होइन यकिन गरेर मात्र कारोबार गर्नुपर्दछ । कुनै पनि वेबसाइटको ठेगाना “https://” बाट सुरु भएको छ भने सुरक्षित, भरपर्दो वा विश्वसनीय छ भन्ने बुझिने भएकोले वेबसाइटको ठेगाना “https://” बाट सुरु भए नभएको यकिन गर्नुपर्दछ ।
७. विद्युतीय कारोबार गर्दा आफू ठगिएको शङ्का लागेमा अथवा कुनै गुनासो रहेमा आफूले कारोबार गर्ने गरेको बैङ्क तथा वित्तीय संस्था एवम् नेपाल राष्ट्र बैङ्कको गुनासो सुनुवाइसम्बन्धी पोर्टल https://gunaso.nrb.org.np मा गुनासो वा उजुरी दर्ता गर्न सकिनेछ ।









प्रतिक्रिया राख्नुहोस्