तपाईँ सुन्दै हुनुहुन्छः

मोरङ र ललितपुरमा भएको हत्याका आरोपी पक्राउ

मोरङ । मोरङको धनपालथानमा दुई र  ललितपुरको गोदावरीमा एक जनाको हत्या गर्ने आरोपीलाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङमा आज आयोजित पत्रकार सम्मेलनमा मोरङको धनपालथान गाउँपालिका–७ उखुबारीमा सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरी शम्भुनाथ–४ का ३२ वर्षीय शम्भुकुमार चौधरी शव गाडेको र गोदावरी–१२ ठेचो चरङ्गखेलस्थित गोदाम घरमा  ६३ वर्षीय, तेह्रथुम सङ्क्रान्ति –२ घर भई हाल काठमाडौँ–३ गोठाटार बस्ने मोहन लिम्बूको हत्या गरी गाडेको आरोपमा ती तीन जनालाई पक्राउ गरी यहाँ सार्वजनिक गरिएको  छ ।

यसरी पक्राउ पर्नेहरूमा मुख्य आरोपी सिराहा नगरपालिका–२१ घर भई हाल काठमाडौँ बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल, मोरङ धनपालथान गाउँपालिका –७ का कमलपुर पश्चिम टोल बस्ने ६२ वर्षीय नासिर आलम र मोरङ जहदा गाउँपालिका–४ सिसवनी बस्ने २९ वर्षीय अमित साह भन्ने दीनानाथ सोनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिनुभयो ।

चौधरी र श्रेष्ठको लास गाडेको अवस्थामा धनपालथान गाउँपालिका–६ दिलीप सिंहरीको उखुबारीमा  शङ्कास्पद माघ १२ गते फेला परेको र लिम्बूको लास ललितपुर गोदावरी–१२ ठेचोमा गाडेको अवस्थामा माघ २० गते फेला परेको थियो ।

हत्याका आरोपितहरूले लिम्बूलाई मङ्सिर २८ गते, श्रेष्ठलाई पुस ५ र चौधरीलाई  पुस ७ गते डोरी र मफलरको प्रयोग गरी हत्या गरी लास छिटो गलोस् भन्नका लागि नुन प्रयोग गरेका थिए । हत्याका आरोपी मण्डलले आर्थिक कारोबारको विवादले हत्या गरेको र अन्य दुई जनालाई हत्या गर्न रकम प्रदान गरी सहयोग लिएको प्रहरीले जनाएको छ ।

निजहरूले तीन वटा लासलाई गाड्नका लागि एकै प्रकृतिको खाल्डो खन्ने र पुर्नका लागि खन्ती र कोदालोको प्रयोग गरेको उपरीक्षक जिसीले जानकारी दिनुभयो । 

आरोपीहरूले श्रेष्ठ र चौधरीलाई गाडेको स्थानबाट १०० मिटर उत्तर कमलपुर जाने नहरमा हत्या गरेको प्रहरीले जनाएको छ । 

प्रहरीले हत्यामा प्रयोग गरिएको ६ पोका नुन र एक थान कोदालो बरामद गरेको छ ।

प्रहरी गहन अनुसन्धान र मोबाइलमा भएको कुराकानीका आधारमा आरोपीहरूलाई पक्राउ गर्न सफल भएको हो । 

आरोपीमध्ये मण्डललाई यही माघ २० गते काठमाडौँ बल्खुबाट, आलम र सोनारलाई माघ २० गते विराटनगर–१७ मटेरुवा र विराटनगर–५ दामाबन्दीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो ।

हत्याका आरोपी मण्डल व्यावसायिक कामको सिलसिलामा मृत श्रेष्ठ चौधरीसँग मङ्सिर २९ गते विराटनगर आएका थिए । 

हत्या हुनुमा प्रमुख कारणमध्ये कारोबारको रकम एकलौटी बनाउने उद्देश्य भएको हुनाले यस कार्यमा थप अन्य सहयोगी हुन सक्ने भएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button