मोरिसस सँगको मैत्रीपूर्ण खेलमा नेपालको जित
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको खेलामा नेपालले मोरिससलाई १–० गोल अन्तरले हराएको हो । नेपाललाई जित दिलाउन खेलको ५५ औँ मिनेटमा विमल घर्तीमगरले निर्णायक गोल गरे ।

अञ्जन विष्टको लामो पासमा विमलले प्रहार गरेको बल गोल पोस्टभित्र पुगेको थियो ।
मोरिससविरुद्ध नेपाल खेलको सुरुआतबाटै आक्रामक रुपमा प्रस्तुत भएको थियो । १४ औँ मिनेटमा नेपालका सुमन लामाले गरेको पेनाल्टी क्षेत्र बाहिरको सशक्त प्रहार पोस्टको माथिबाट बाहिरियो ।
खेलको २२ औँ मिनेटमा मोरिससका स्टेभेन नाजिराले गरेको प्रहार नेपालका गोलकिपर तथा कप्तान किरण चेम्जोङले सहजै बचाएका थिए ।
खेलको ३६ औँ मिनेटमा मोरिससका एड्रिन फ्रान्कोइसले सिक्स यार्ड बक्स नजिकैबाट प्रहार गरेको बल पनि किरणले सहजै बचाएका थिए ।

खेलको ४६ औँ मिनेटमा फेर्नान्डो ज्याक्सनको प्रहार पोस्टमा लाग्दै फर्किएपछि मोरिसस अग्रता बनाउन चुकेको थियो ।
६५ औँ मिनेटमा मोरिससका स्टेभेन नाजारियाको प्रहार गोलकिपर किरणले बचाए ।
खेलको ७५ औँ मिनेटमा जगजित श्रेष्ठको फ्री–किकमा अञ्जनको फ्लिक हेडर बल पोस्टको क्रस बारमा लागेर फर्किदा नेपाल दोब्बर अग्रता बनाउनबाट चुक्न पुग्यो ।
७७ औँ मिनेटमा अञ्जनले पेनाल्टी क्षेत्रभित्रबाट प्रहार गरेको बल पुनः पोस्टमा लागेर फर्किएको थियो । त्यहीँ रिबाउन्डमा जगजितले हेडर मार्फत गरेको प्रहार मरिससका गोलकिपर केभिनले उत्कृष्ट बचाऊ गरे ।
नेपालले पहिलो पटक आधिकारिक रुपमा अफ्रिकी राष्ट्रसँग खेलेको हो ।
नेपालले अब मोरिसस विरुद्धको दोस्रो मैत्रीपूर्ण मङ्गलवार खेल्नेछ ।







प्रतिक्रिया राख्नुहोस्