सूर्योदय नगरपालिकामा जिपलाइन सुरु
इलाम । इलामको सूर्योदय नगरपालिका ८ स्थित बिरिङमा जिल्लामै पहिलो पटक साहसिक जिपलाइन यात्रा लगायत सुरु भएको छ ।

स्थानीय व्यक्तिहरूको सक्रियतामा गत वर्ष गठन भएको अभियान ग्रुपले स्थापना गरेको सूर्योदय एडभेन्चरको आज सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईले उद्घाटन गर्नुभयो ।
हाल रेस्टुरेन्ट एन्ड बार र साहसिक जिपलाई यात्रा सुचारु गरिएको छ भने आगामी १ महिना भित्रमा मिनी बन्जी सुरुवात गरिने र ३ महिना भित्रमा स्काई साइक्लिङ, स्पोर्टस रक क्लाइम्बिङ लगायत सुरुवात गरिने अभियान ग्रुप सञ्चालक समितिका सचिव अर्जुन खरेलले जानकारी दिनुभयो ।
करिब १०० रोपनी जग्गा लिजमा लिएर सुरु गरिएको सञ्चालक ग्रुपले अरू पनि थुप्रै योजना रहेको जनाएको छ । हाल सम्म १ करोड ८० लाख बढी लगानी भइसकेको र अरू योजना सम्पन्न गर्दा ३ करोड माथि लगानी हुन सक्ने सचिव खरेलले जानकारी दिनुभयो ।
हाल भौतिक रुपमा ३० प्रतिशत मात्र काम सकिएको र अब अरू संरचनाहरू बनाउने योजना ग्रुपसँग रहेको छ । राज्यसँग अनुमति लिएर मृगस्थली बँदेल पालक कालिज पालन लगायत व्यावसायिक काम गर्ने एग्रो एडभेन्चर टुरिजम लगायतका काम आगामी ४ बर्ष भित्रमा सम्पन्न गर्ने योजना रहेको ग्रुपका सदस्य एवं वडा न ८ का अध्यक्ष सुभाष राईले जानकारी दिनुभयो ।

हाल सुपर मेन जिपलाइन र क्लासिक जिपलाइन सञ्चालनमा रहेको र क्लासिक जिपलाइनको लागि अहिले रु ८ सयमा यात्रा गर्न सकिने र सुपर मेन जिपलाईलाई एक हजार सम्म पर्न सक्ने सचिव खरेलले जानकारी दिनुभयो ।
३०० मिटर लामो दुरीमा यात्रा गर्न मिल्ने जिपलाइनमा करिब ४० सेकेन्डमा यात्रा पुरा सकिन्छ । यसमा धेरै तौल हुने मान्छे छिटो पुग्ने र कम तौल हुने मान्छे केही ढिलो पुग्न सक्ने प्राविधिकहरूको भनाई छ ।
परिवारको अनुमतिमा १२ बर्ष भन्दा माथिकाले जिपलाइन सफर गर्न सक्ने छन् । त्यसका लागि न्यूनतम ३० र अधिकतम १०० केजी सम्म कायम गरिएको सचिव खरेलले जानकारी दिनुभयो ।
नगर प्रमुख रण बहादुर राईले यस्ता योजनाहरूले पर्यटन प्रर्बद्धनमा निक्कै ठुलो टेवा मिल्ने र आगामी दिनमा इलामको सकारात्मक परिचय वृद्धि गर्ने बताउनुभयो ।
जिपलाइनमा यात्रा गर्ने सबैभन्दा ज्येष्ठ नागरिक स्थानीय भवानी शङ्कर अर्यालले आफूलाई निक्कै रमाइलो लागेको बताउनुभयो । उहाँले अरूलाई पनि वरपरको रमाइलो दृश्य हेर्दै जीवनमा एक पटक जिपलाइनको पनि आनन्द लिन सुझाव दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्