चेपाङ परिवारलाई खाद्यान्न र न्यानो कपडा सहयोग
चितवन । राप्ती नगरपालिका वडा नम्बर १३ कान्दाका दुई चेपाङ परिवारले खाद्यान्नसहित न्यानो कपडा पाएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाले कान्दाका दशरथ चेपाङ र रामकुमार चेपाङको परिवारलाई उक्त सामग्री सहयोग गरेको हो ।
सोमबार चेपाङ संरक्षणकर्मी केपी किरण चेपाङसहित कोषका प्रतिनिधिहरू आनन्दराम थापा, विश्वप्रकाश अधिकारीलगायतको टोलीले कान्दा पुगेर चेपाङ परिवारलाई उक्त सामग्री हस्तान्तरण गरेको हो ।

चिसो मौसममा पनि ओढ्ने, ओछ्याउने अभावमा आगाको भर पर्नुपरेको समाचार सञ्चारमाध्यममा प्रकाशन भएपछि सोही आधारमा कोषमार्फत फाइबरको सिरक, म्याट्रेस, ट्राउजर सेटसहित चामल, नुन, तेललगायतका खाद्य सामग्री सहयोग गरिएको हो । दशरथको घरमा १४ र रामकुमारको घरमा चार जनाको परिवार छ ।
विकटका चेपाङ परिवारका लागि हरेक वर्ष यही समस्या दोहोरिने गर्छ । यसपालि पनि अधिकांश दूर दराजमा रहेका चेपाङको अवस्था यस्तै रहेको गामबेँसी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले बताए ।








प्रतिक्रिया राख्नुहोस्