एमालेको जुम्ला जिल्ला कमिटी नेकपा एकीकृत समाजवादीमा

जुम्ला । जुम्लामा नेकपा एमालेभन्दा एकीकृत समाजवादी पार्टी बलियो बनेको छ ।
नेकपा एमाले जिल्ला कमिटीको कुल ६१ जना सदस्य मध्ये ५८ जना सदस्य नेकपा (समाजवादी) पार्टीमा लागेपछि नेकपा एमाले कमजोर भएको छ ।
शनिबार नेकपा एकीकृत समाजवादी जुम्लाले पत्रकार सम्मेलनको आयोजना गरेर सिङ्गो जिल्ला कमिटी नै समाजवादी पार्टीमा रहेको जनाएको छ ।
नेकपा एमालेतिर हाल मेनका पछाई, लाल भट्टराई उभिएका छन् । धिर बोहोरा मनोनीत सदस्य भएकोमा पार्टीले निष्कासन गरिसकेको थियो । जम्मा ६१ जनामध्ये निष्कासन गरिएका सहित ३ जनाबाहेक ५८ जना सबै समाजवादीमा रहेको जनाइएको छ ।
योसँगै युवासंघ नेपाल, अखिल नेपाल महिला सङ्घ, अखिल नेपाल किसान महासङ्घ, प्राध्यापक सङ्घ, शिक्षक सङ्गठन, निजामती कर्मचारी सङ्गठन र त्रिवि मातहतका सबै सङ्गठन समाजवादी तिरै रहेको समेत नेकपा (एकिकृत समाजवादी) पार्टीले जनाएको हो ।
जिल्ला अध्यक्ष तीर्थबहादुर बुढा, उपाध्यक्ष नन्दराम रोकाया, सचिव आदीप्रसाद न्यौपाने र उपसचिव राजबहादुर शाहीद्वारा जारी संयुक्त विज्ञप्तिमा जिल्ला कमिटी समाजवादी पार्टीमा आइसकेको उल्लेख गरिएको छ ।
त्यस्तै कर्णाली प्रदेशसभा सदस्य तथा जुम्ला प्रदेश क्षेत्र (ख) का सांसद पदमबहादुर रोकाया लगायत ७० प्रतिशत जनप्रतिनिधि र चन्दननाथ नगरपालिका वडा नं ६ र ८ का वडाध्यक्षसहित एमालेबाट जीतेका सबै जनप्रतिनिधिले समाजवादीमा सनाखत गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्