स्वास्थ्य सेवाको पुनर्निर्माणका विषयमा विश्व स्वास्थ्य सङ्गठनमा छलफल हुँदै

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको दक्षिण-पूर्वी एशिया, क्षेत्रीय कार्यकारी समितिको ७४ औँ वार्षिक बैठक यहि भदौ २१ देखि २५ सम्म नेपालमा आयोजना हुँदै छ ।
दक्षिण-पूर्वी एशिया क्षेत्रका मन्त्रीहरूले सो कार्यक्रममा विद्यमान महामारी तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच हासिल गर्नका लागि अत्यावश्यक स्वास्थ्य सेवाहरूको विषयमा विशेष छलफल गर्ने बताइएको छ ।
। उक्त बैठकमा विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. ट्रेडोस अधानम घेब्रेयेसस, क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल सिंह, क्षेत्रका सदस्य मुलुकका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य अधिकारीहरू, संयुक्त राष्ट्र सङ्घका निकाय, साझेदार, दातृ निकाय तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहने छ ।
महामारीले पैदा गरेको जोखिमलाई मध्यनजर गर्दै लगातार दोस्रो पटक भर्चुअल माध्यमबाट आयोजना हुन लागेको उक्त वार्षिक बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गति दिने, र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायतका विषयहरूमा छलफल हुनेछ ।
स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि उक्त बैठकमा छलफल हुनेछ । बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकहरूमा अनुमोदन गरिएका प्रावधानहरूमा भएका प्रगतिको लेखाजोखा गर्नेछ ।
सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, स्वास्थ्य सामग्रीमा पहुँच बढाउने, दक्षिण—पूर्वी एशिया क्षेत्रीय स्वास्थ्य आपत्कालीन कोष र प्राथमिक स्वास्थ्य चौकीको स्तरमा नसर्ने रोगहरूको लागि हुने सेवा प्रवाहलाई थप गति दिन स्वास्थ्य प्रणालीहरूको सुदृढीकरण जस्ता विषयहरू पनि उक्त बैठकमा उठान हुन सक्नेछन् ।
विद्यमान महामारीलाई सम्बोधन गर्ने क्रममा यस क्षेत्रमा भएका मुलुकहरूले आठ मुख्य प्राथमिकतामा पनि आफ्नो प्रयासलाई जारी राखेका छन् । सन् २०२३ सम्ममा दादुरा र रुबेला उन्मूलन गर्ने, बहु क्षेत्रीय नीति तथा योजनाहरूबाट नसर्ने रोगहरूको सम्बोधन गर्ने, मातृ, नवजात शिशु तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरको न्यूनीकरणलाई गति दिने, स्वास्थ्यमा सर्वव्यापी पहुँचलाई अघि बढाउने, एन्टिमाइक्रोबियल प्रतिरोधलाई उल्ट्याउने, आपत्कालीन जोखिम व्यवस्थापन क्षमता बढाउने र उपेक्षा गरिएका उष्णदेशीय रोग र क्षयरोगको उन्मूलन गर्ने नीति लिइएको थियो।
विश्व स्वास्थ्य सङ्गठन दक्षिण—पूर्वी एशिया क्षेत्रले सन् २०१४ मापोलियो उन्मूलन गरेको थियो र सन् २०१६ मा मातृ तथा नवजात शिशुमा हुने धनुष्टङ्कार रोगको उन्मूलन गरेको थियो । माल्दिभ्स र श्रीलङ्काले दादुरा र रुबेला दुवै रोगहरू उन्मूलन गरेका छन् भने भुटान, दक्षिण कोरिया रटिमोर—लेट्से दादुरा उन्मूलन गर्न सफल भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्