तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा हट्यो जोर बिजोर, खुलेन सिनेमा हल र पार्टी प्यालेस

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै भाद्र ३१ गते सम्मका लागि थप गरेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कास्कीमा संक्रमण दर बढी नै रहेको कारण देखाउँदै त्यसको फैलावटलाई रोक्नका लागि जारी निषेधाज्ञा भाद्र ३१ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा जारी विज्ञप्ति अनुसार अब कास्कीमा सवारीमा जोर बिजोर प्रणाली हट्ने भएको छ । तर, स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु  राख्न पाइने छैन, साथै तोकिएका मापदण्डलाई अनिवार्य पालना गर्नुपर्नेछ ।

यस्तै सरकारी, तथा निजी, गैर सरकारी संस्थाहरूले गोष्ठी, तालिम, सेमिनार तथा प्रयोगात्मक परीक्षा जस्ता कार्यक्रमहरू प्रशासनलाई जानकारी गराउँदै, स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर बढीमा २५ जना सहभागी भएर कार्यक्रम गर्न सक्ने जनाइएको छ ।  

तर, अझै पनि सिनेमा हल, पार्टी प्यालेस, नाचघर, क्लब, दोहोरी साँझ, रङ्गशाला, फुटपाथ पसलहरू भने खोल्न पाइने छैन भने, संस्कारजन्य कार्यक्रमहरू पनि पार्टी प्यालेस तथा होटलमा सञ्चालन गर्न नपाइने विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button