तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गली बँदेलबाट बाली जोगाउन रातभर जाग्राम बस्दै डडेलधुराका किसान

डडेल्धुरा । डडेल्धुराका अधिकाँस गामणि भेगमा अहिले जङ्गली बँदेलबाट बालीनाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता आइपरेको छ  । 

जिल्लाको अमरगढी नगरपालिका–४ सुनेडाका सुरेश विष्ट साँझ ६ बज्यो कि घरबाट निस्कनुहुन्छ  र खेतबारी नजिकै टहरोमा रात बिताउनुहुन्छ । 

मकै बारीको बीचमा बस्नको लागि उहाँले त्रिपालको टहरा बनाउनुभएको छ । 

‘घोगा’ लागिरहेको मकै राति जङ्गली जनावर बँदेलले आएर खान थालेपछि उहाँ निरन्तर एक महिनादेखि टहरामा बस्दै आएको उहाँ बताउनुहुन्छ 

उहाँ मात्रै होइन अहिले सुनेडा गाउँका अधिकाँश मकै लगाएका किसानहरूले खेतमा टहरा बनाएर बस्नुभएको  छ । 

टहराभित्र बस्नु रहर नभएर बाध्यता भएको उहाँहरू बताउनुहुन्छ । 

यस क्षेत्रका अधिकाँश किसानले मकै खेती गर्ने गर्नुभएको छ । खेतीपातीबाट घर खर्च चलाइराख्नुभएका कृषकलाई जङ्गली जनावरले अन्नबाली खान थालेपछि भोकमरीको पिरलोले पोल्न थालेको छ ।

यहाँका किसानलाई जङ्गली जनावरले लगाएको अन्नबाली खान थालेपछि के खाने के लगाउने भन्ने समस्याले चिन्तित बनाएको विष्ट बताउनुहुन्छ । बँदेल धपाउनका लागि रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

‘साँझ हुने बित्तिकै बँदेल मकै बारीमा पस्छ । मकै बाली जोगाउनका लागि हामीले खेतमा टहरा बनाएका छौँ । राति बँदेल आयो भने भगाउन सहज हुन्छ,’ उहाँले भन्नुभयो, “एक टहरामा दुई जना बस्छौँ । प्राय कृषकले खेतमा बँदेल धपाउन टहरा बनाउनुभएको छ ।”

स्थानीय सरकार र डिभिजन वन कार्यालयलाई जङ्गली जनावर नियन्त्रण गर्न आग्रह गर्दा समेत ध्यान नदिएको स्थानीय पवन विष्टले गुनासो गर्नुभयो । “राति बँदेल आएर बारीमा मकै नष्ट गर्छ र अनि हामीहरू थाल बजाएर बँदेल भगाउँछौँ” उहाँको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button