तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय प्रहरीको सहयोगमा सात जना नेपाली युवतीको भारतबाट उद्धार

वीरगंज । भारतीय प्रहरीको सहयोगमा पर्सा प्रहरीले विहारको आदापुरबाट सात जना नेपाली युवतीको उद्धार गर्नुका साथै उनीहरूलाई बेचबिखन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले भारतको विहार राज्य पूर्वी चम्पारण, आदापुर बजारमा आर्केष्ट्रामा बेचिएका ११ वर्षदेखि २० वर्षसम्मका ७ जना नेपाली किशोरीहरूलाई उद्धार गर्नुका साथै उनीहरूलाई बेच्ने एक नेपाली महिलासहित दुई जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साबाट खटिएको प्रहरी टोलीले भारतीय काउन्टरपार्ट्ससँग समन्वय गरी आफन्त नेपाल संस्थासँगको सहकार्यमा भारतको आदापुरबाट सात जना युवतीहरूको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

सोही क्रममा प्रहरीले किशोरीहरूलाई बेचबिखनमा संलग्न रहेको आरोपमा भारत विहार पूर्वी चम्पारण, छौँडादानो वडा नं.११ निवासी २५ वर्षीय विकास भन्ने विकेश कुमार र धनुषाकी नेपाली महिला हाल छौँडादानो बस्ने २४ वर्षीया ममता कुमारी भन्ने अजिमा खातुनलाई पक्राउ गरिएको खनालले बताउनुभयो । 

आकर्षक काम र बढी तलबको प्रलोभनमा पारी अभियुक्तहरूले नेपाली युवतीहरूलाई भारतमा अनैतिक कार्य गराउने र अशोभनीय पोसाकमा बिना पारिश्रमिक आर्केष्ट्रामा नाचगान गराउने गरेको पीडित युवतीहरूले बताएको डिएसपी खनालले बताउनुभयो ।

मानव बेचबिखनको आरोपमा पक्राउ परेका दुई जनालाई पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई थप अनुसन्धान अगाडी बढाइएको डिएसपी खनालले बताउनुभयो । 

उद्धार गरिएका किशोरीहरूलाई भने आफन्तको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button