पर्वतका पर्यटकीय गन्तव्य लयमा फर्किँदै

पर्वत । पर्वत जिल्लामा कोरोना सङ्क्रमणका कारण प्रभावित भएको आन्तरिक पर्यटन लयमा फर्किन थालेको छ ।
कोरोना सङ्क्रमणका बाबजुद स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी जिल्लाको बञ्जीजम्प, स्वीङ, स्काई साईकलिङ लगायतका खेल सुरु भएपछि र नेपालकै अग्ला पुलहरूमा आवतजावत खुल्ला भएपछि पर्यटकको आगमन बढ्न थालेको हो ।
विशेष गरी पुल पर्यटनकै कारण चर्चामा आएको सदरमुकाम कुस्माबजार एक वर्षयता बन्जी र जिलाइनका कारण पनि चर्चामा छ ।
बन्जी र निर्माणाधीन जिपलाइनकै कारण कुस्मामा दिनानुदिन सुविधा सम्पन्न होटल थपिँदै गएका छन् । पर्यटक लक्षित बञ्जिजम्प, स्काई साईकिलिङ, स्वीङ गत वर्षको चैत्र देखि सुनसान थिए । व्यवसायीले कोरोना विरुद्धको खोप लगाएको हुनाले सुरक्षा सावधानी अपनाएर पर्यटक लक्षित व्यवसाय खुल्ला गरेपछि पर्यटकहरू आउन थालेका बञ्जीजम्प सञ्चालक राजु कार्कीले जानकारी दिनुभयो ।
कोरोना संक्रमण बढेमा पुनः बन्द गर्ने गरी दैनिक १०–१५ जनासम्मलाई बन्जी गराइएको कार्कीले बताउनुभयो ।

सार्वजनिक यातायात खुला गरिएसँगै अरू जिल्लावासीको आउजाउ बढ्न थालेको हो । निर्माणाधीन पर्यटकीय पूर्वाधारको कामसमेत धमाधम अघि बढेको छ ।
निर्माणाधीन जिपलाइन दसैँभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको हार्नेस जिलाइनका निर्देशक नरेन्द्र खत्रीले बताउनुभयो ।
उहाँका अनुसार जिपलाइनको काम अन्तिम चरणमा छ । जिपलाइनको अवतरण हुने स्थान कुश्मा–४ को साउने बगरमा कालीगण्डकीबीच रिसोर्टको काम समेत तीव्र गतिमा भइरहेको छ ।
७ युवाको करिब १३ करोडको लगानीमा जिपलाईन निर्माण भइरहेको छ । पर्वतमै निजी क्षेत्रको लगानीमा सञ्चालित कुस्मा–बलेवा यान्त्रिक पुल पनि सञ्चालनमा आउन थालेको छ ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सिट क्षमताको आधा यात्रु ओहोरदोहोर हुने यान्त्रिक पुलका प्रबन्धक चिरञ्जीवी रेग्मीले बताउनुभयो ।
बन्जी, यान्त्रिक पुल र अग्ला पुलमा आउजाउ खुला भएसँगै होटल र यातायात व्यवसायीले केही राहत महसुस गरेका छन् ।
होटल व्यवसायी कृष्ण श्रेष्ठले अरू व्यवसाय खुलेसँगै खाजा खान आउनेको सङ्ख्या बढेको बताउनुभयो ।
उहाँका अनुसार बन्जी, स्काई साइक्लिङ र अग्ला पुल हेर्न आउनेको चहलपहल बढेको छ ।








प्रतिक्रिया राख्नुहोस्