गण्डकी सरकारलाई ८५ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग

पोखरा । गण्डकी प्रदेश सरकारलाई प्रतिमान निमा स्मृति प्रतिष्ठानले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानलाई अमेरिकाबाट प्राप्त स्वास्थ्य सामग्री प्रतिष्ठानकी कार्यकारी निर्देशन स्वाती थापाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई हस्तान्तरण गर्नु भएको हो ।
झन्डै ८५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री मुख्यमन्त्री पोखरेलले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङलाई प्रदान गर्नुभएको छ ।
पिपिई, फेस सिल्ड, मास्क, एन्–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिई सेट, इमर्जेन्सी रिलिफ बेड, पन्जा लगायतका सामग्री प्रतिष्ठानले सरकारलाई प्रदान गरेको हो ।
कार्यक्रममा मुख्यमन्त्री पोखरेलले विश्वभर कोभिड–१९ को महामारी फैलिइरहेका बेलामा प्राप्त सहयोगको ठूलो महत्त्व हुने भनाइ राख्नुभएको थियो ।
मुख्यमन्त्री पोखरेलले प्राप्त सामग्रीको उचित सदुपयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीलाई निर्देशन समेत दिनुभएको छ ।
सीमित स्रोत साधनबाट प्रदेश सरकार सञ्चालित भइरहेको अवस्थामा दातृ निकाय, छिमेकी र मित्र राष्ट्र, विभिन्न सङ्घ संस्थाको सहयोगबाट कोभिड नियन्त्रण र रोकथामका काम गर्दै आएको उहाँको भनाइ थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोरोनाले आक्रान्त बनाएका बेला प्राप्त सहयोगको अधिकतम सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रदेशका प्रमुख सचिव डा.दामोदर रेग्मीले विदेशबाट प्राप्त हुने सहयोग अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुनुपर्ने कुरामा जोड दिनुभयो । प्रतिष्ठानले अमेरिकाका विभिन्न संस्थासँग पहल गरी स्वास्थ्य सामग्री मगाएको र झन्डै ५ करोडका सामग्री चार्टर फ्लाइटमा नेपाल ल्याइएको हो ।
कार्यकारी निर्देशक थापाका अनुसार सात वटै प्रदेशमा यी सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ ।
२०६० सालामा स्थापित प्रतिष्ठानले स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।








प्रतिक्रिया राख्नुहोस्