तपाईँ सुन्दै हुनुहुन्छः

शेयर कारोबारका सम्बन्धमा छानबिन गरी कारबाही गर्न समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले नेपाल धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीले पदीय मर्यादा अनुकूल नहुने गरी गरेको भनिएको शेयर कारोबारका सम्बन्धमा यथाशीघ्र छानबिन गरी कारबाही अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।


अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव मधु मरासिनीसँग बोर्ड र नेप्सेका पदाधिकारीले गरेको शेयर कारोबारका विषयमा जानकारी लिएपछि समितिले अनुचित लाभ लिन गरेको भनिएको उक्त घटनाका सम्बन्धमा कारबाही अघि बढाउन र सोको जानकारी समितिलाई गराउन मन्त्रालयलाई निर्देशन दिएको हो ।


बैठकले पुँजी बजारको दिगो विकास र स्थायित्व कायम गर्दै स्वच्छता, पारदर्शी, सदाचार, नैतिकता साथै जिम्मेवारी र जबाफदेही प्रवर्द्धन गर्न आवश्यक रहेको सुझाव दिएको छ ।


समितिले पुँजी बजार क्षेत्रको सुधारका लागि नीतिगत, कानुनी, संरचनात्मक, व्यवस्थापकीय, प्रविधिगत र कार्यशैलीगत पक्षमा गर्नुपर्ने सुधारको खाका तयार गरी समितिलाई जानकारी गराउन पनि मन्त्रालयलाई निर्देशन पनि दिएको छ ।


बैठकमा अर्थमन्त्री शर्माले धितोपत्र बोर्ड र नेप्सेले गर्ने कामकारबाही नियमन गरी व्यवस्थित तुल्याउने तालुकदार मन्त्रालय भएका नाताले विषय उठ्नेवित्तिकै ध्यानाकर्षण भई छानबिनका लागि समिति गठन गरिएको जानकारी दिनुभयो ।


बैठकमा सभापति कृष्णप्रसाद दाहालले थोरै पूूँजी लिएर प्रवेश गरेका सिधा सोझा लगानीकर्ता ठगिने अवस्था अन्त्य गरी पुँजी बजारलाई स्वच्छ, स्वस्थ, पारदर्शी र प्राकृतिक रुपमा सञ्चालन गराउन सरकार चनाखो हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।


समितिमा सदस्यले धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीको शेयर कारोबारसँग जोडिएको प्रकरण नैतिकता र जिम्मेवारीसँग जोडिएकाले त्यसमा संलग्न हुनु गलत कार्य भएको धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button